
२६३ स्थायी प्रहरी चौकी जीर्ण, पुनर्निर्माणमा बजेट अभाव: आईजीपी कार्की
काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभर रहेका २६३ स्थायी प्रहरी चौकीहरू जीर्ण अवस्थामा पुगेको बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले ती चौकीहरूको पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव रहेको गुनासो गरे।
आईजीपी कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेका छन्, जसका कारण प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य छन्।
‘सीमावर्ती क्षेत्र र संवेदनशील ठाउँका चौकीहरू भत्किने अवस्थाका छन्। कतिपय त चौकी नै लड्ने हो कि भन्ने चिन्तासहित काम गर्नुपर्ने अवस्था छ। हाल २६३ वटा स्थायी चौकीहरू जीर्ण छन्, अस्थायी चौकीहरूको त हिसाब नै छैन,’ उनले समितिमा भने।
उनले जीर्ण चौकीहरूको पुनर्निर्माण संघीय मामिला तथा स्थानीय तहको समन्वयमा हुन सके प्रहरी कर्मचारीहरूलाई ड्युटीपछि न्यूनतम मानवीय सुविधा प्राप्त हुने बताए।
आईजीपी कार्कीले अस्थायी प्रहरी चौकीहरूको अवस्था पनि यकिन रूपमा मूल्यांकन हुन नसकेको उल्लेख गर्दै ती चौकीहरूलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए। उनका अनुसार अस्थायी चौकीमार्फत राज्यको उपस्थिति देखिए पनि दीर्घकालीन समाधानका लागि स्थायी संरचना आवश्यक हुन्छ।
‘अस्थायी प्रहरी चौकी आवश्यक ठाउँमा संवेदनशील रूपमा राखिएको छ। तर दीर्घकालीन व्यवस्थापनका लागि स्थायी संरचना र बजेट आवश्यक हुन्छ,’ उनले भने।



कागजपत्र |
