गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दा हालेकी श्रीमतीसँगै बस्नुपर्ने !


धनगढी-  गायक रवि ओडले दायर गरेको सम्बन्ध विच्छेदको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ ।

ओडले श्रीमतीसँग अलग बस्ने निर्णय गर्दै जिल्ला अदालत कञ्चनपुरमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर अदालतले वैवाहिक सम्बन्ध कायम रहने निर्णय गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ गर्दै सम्बन्ध विच्छेदको माग अस्वीकार गरेको अदालतले जनाएको छ ।

अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले अदालतले रवि ओडको सम्बन्ध विच्छेद नहुने फैसला गरेको जानकारी दिए । उनले फैसलाको पूर्णपाठ आउन भने केही समय लाग्ने बताए ।

यसअघि रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा भने अदालतले रविलाई सफाइ दिएको थियो ।

उनकी श्रीमतीले वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनको आरोप लगाउँदै २० चैत २०८० मा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । त्यसपछि पक्राउ परेका रवि ओड सुरुमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पछि २०८१ असारतिर अदालतले उनलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।

नेपाल आइडलका विजेता रवि ओड पछिल्लो समय गायन र अभिनय क्षेत्रमा सक्रिय छन् । उनले विभिन्न गीतमा स्वर दिएका छन् भने थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् ।

प्रतिक्रिया