मन्त्रालय पुनर्गठनपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ जना अतिरिक्त समूहमा


काठमाडौं-  सरकारले मन्त्रालयहरूको संख्या १८ कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै व्यापक सरुवा गरेको छ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार साविकका २२ मन्त्रालयलाई घटाएर १८ कायम गरिएपछि सचिवहरूको दरबन्दीसमेत सोहीअनुसार मिलान गरिएको हो। यसअन्तर्गत दुई सचिव रहने व्यवस्था भएका मन्त्रालयहरूमा दरबन्दी घटाएर एक–एक सचिव मात्र कायम गरिएको छ।

सोही प्रक्रियाअनुसार कुल २३ जना सचिवहरूको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरिएको छ। तीमध्ये छ जना सचिवलाई विभिन्न निकायमा कार्यभार तोकेर सरुवा गरिएको छ।

नयाँ निर्णयअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेशमा, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा, चिरञ्जीवी चटौतलाई नेपाल ट्रष्टको कार्यालयमा र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई–दुई जना सचिव रहने व्यवस्था थियो।

यसैबीच छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। उक्त समूहमा लोकनाथ पौडेल (साविक युवा तथा खेलकुद मन्त्रालय), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालय), डा. गोविन्दप्रसाद शर्मा (साविक वन तथा वातावरण मन्त्रालय), डिल्लीराम शर्मा (साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र डण्डुराज घिमिरे (हाल निलम्बनमा) रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अतिरिक्त समूहमा रहेका सचिव डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयका लागि विशेष जिम्मेवारीसहित खटाइएको छ।

त्यस्तै अतिरिक्त समूहका एक जना सचिवलाई सूचना प्रविधि (आईटी) समन्वयको जिम्मेवारी दिने तयारी भइरहेको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया