चितवन मेडिकल कलेजको लापरबाहीः श्रीमानलाई बचाउन कलेजो दिइन्, तर…!


काठमाडौं – चितवन भरतपुर महानगरपालिका–६ का बोधराज पौडेलले विगत ४ महिनादेखि चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार गराउँदै आएका थिए। कलेजोको बिरामी रहेका पौडेललाई सिएमसी अस्पतालका डाक्टरहरुले सुरुदेखि नै कलेजो प्रत्यारोपण गर्न सुझाए।

कलेजो प्रत्यारोपण गर्ने क्रममा पौडेलको ४ असोजमा शरीरको सबै चेकअप भयो। प्रत्यारोपणका लागि पौडेलको अवस्था ठिक देखिएन। पौडेलको रगतमा थाइराइडको मात्रा १५० भन्दा बढी देखियो। त्यस्तो अवस्थामा शल्यक्रिया गर्दा ज्यान जाने जोखिम हुन्छ।

तर, सिएमसी अस्पतालका डाक्टरहरु डा. किरण अधिकारी, डा. सागर, डाक्टर राजीव झालगायत सबैले केही हुँदैन भन्दै प्रत्यारोपण गर्न सुझाए। रगतमा थाइराइडको मात्रा बढी हुँदाहुँदै पनि पौडेलको ५ असोज २०७८ मा प्रत्यारोपण गरियो।

कलेजो प्रत्यारोपणपश्चात लगत्तै त्यही अपरेटिङ टेबलमा पौडेलको मृगौलामा भएको पथ्थरीको शल्यक्रिया समेत गरियो। मृगौलामा भएको पथ्थरीको शल्यक्रिया सिएमसीका डाक्टर राजीव शाहले गरेका हुन्।

तर, पौडेलको मृगौला शल्यक्रिया र कलेजो प्रत्यारोपण गरेको केही घण्टा नबित्दै आईसीयूमै मृत्यु भयो। हाँस्दै अपरेशन थिएटरभित्र छिरेका पौडेलको पछि अस्पतालले परिवारलाई लाश दियो। पौडेललाई प्रत्यारोपणको लागि कलेजो आफ्नै श्रीमती सुशीलाले दिएकी थिइन्।

यता, पौडेलको कलेजो प्रत्यारोपण गर्ने मुख्य डाक्टर हुन्, सञ्जय कुमार यादव। बुबाको मृत्यु र कलेजो दान गरेपछि कमजोर भएकी आमाको अवस्था देखेर छोराहरुले सहजै मृतक पौडेलको शव बुझेर काजकिरिया गरे।

काजकिरिया सकेपछि बुझ्दै जाँदा अस्पताल धाउने क्रममा अस्पतालले चरम लापरबाही, गैरकानुनी काम र नराम्रो किर्ते गरेको फेला परेको मृतक पौडेलका छोरा प्रशन्न पौडेल बताउँछन्। प्रशन्नका अनुसार बुबाको मृत्यु भएपछि डा. सञ्जय कुमार यादव आफू जोगिन अरुलाई आरोप लगाउन थालेका छन्।

मृगौलाको पथ्थरीको शल्यक्रिया गर्दा संक्रमण भएर उहाँको मृत्यु भएको डाक्टर यादवको भनाइ छ। ‘त्यसरी उच्च संक्रमणको सम्भावना हुँदाहुँदै अस्पतालले किन अपरेशन गर्न सुझाव दियो,’ छोरा प्रशन्न प्रश्न गर्छन्, ‘डाक्टरहरुले ख्याल, औषधी र सावधानी नपनाउँदा बुबा गुमायौं।’

कलेजो प्रत्यारोपण र मृगौलाको पथ्थरीको शल्यक्रिया गर्नुअघि अस्पताल प्रशासनले हामीलाई केही पनि जानकारी नदिएको प्रशन्न गुनासो पोख्छन्। कलेजो प्रत्यारोपण गर्ने डाक्टर यादवसँग अनुमति पत्र नै नभएको कुरा डाक्टरकै मुखबाट सुनेको समेत प्रशन्नले बताए।

‘बुबाको अपरेशन भारतबाट डाक्टर झिकाएर गर्ने कुरा अस्पतालले भनेको थियो। त्यसको खर्च हामीले व्यहोर्ने कुरामा सहमति पनि भएको थियो,’ प्रशन्न भन्छन्, ‘तर, भारतबाट कस्ता डाक्टर आए, कतिजना आए, हामीलाई केही पत्तो समेत दिइएन।’

हामीले भारतको मेदान्त अस्पतालमा लगेर बुबाको उपचार गराउँछौं भन्दा अस्पतालले पर्दैन भनेर आश्वासन समेत दिएको प्रशन्नले अनलाइनन्युज७सँगको कुराकानीमा सुनाए। उनी थप्छन्, ‘भारतबाट ल्याएको भनिएको चिकित्सक डाक्टर हुन् कि कसाई हुन्।’

यसबारे बुझ्न अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेलाई फोन सम्पर्क गर्दा रिसिभ गरेनन्। उनले उल्टो के बारेमा बुझ्न खोज्नुभएको हो भन्दै म्यासेज गरे। म्यासेजमा बोधराज पौडेलको घटना के हो भनेर सोध्दा रिप्लाई समेत दिएनन्।

यसो भन्छन् मृतकका छोरा प्रशन्न

५ असोजमा मेरो पिता बोधराज पौडेलको कलेजो प्रत्यारोपण गरे पश्चात केही घण्टा पनि नबित्दै असोज ६ गते आईसीयूमा मृत्यु भयो। पिताको स्वर्गारोहणपछिको क्रियाकर्म र त्यसपछि आमा कलेजो दाता भएकाले उहाँको शल्यक्रियापछिको स्वास्थ्य जाँचलाई लिएर भएको अस्पताल दौडाहापछि घटनाबारे अरु सम्बन्धित डाक्टरसँग बुझ्दा मेरो बुबाको उपचारमा संलग्न चिकित्सक र अस्पतालले लापरबाही गरेको पाइएको छ।

मेरो बुबाको कलेजो खराब भएको र त्यसको उपचारको लागि कलेजो प्रत्यारोपण चाहिने कुरा सहि थियो। तर, शल्यक्रियाको लागि बुबाको अवस्था ठिक थिएन। मेरो बुबाको रगतमा भाइराइडको मात्रा १५० भन्दा बढी थियो।

र, त्यस अवस्थामा शल्यक्रिया गर्दा ज्यान जाने खतरा हुँदाहुँदै पनि शल्यक्रिया गरियो। यसबारे हामीलाई शल्यक्रिया पूर्व केह पनि जानकारी समेत गरिएन। Myxedema Coma को उपचारमा चाहिने प्रमुख औषधी intravenous levothyroxine रहेछ।

मृतक पौडेलका छोरा प्रशन्न।

हामीले थाहा पाए अनुसार यो औषधी नेपालमा पाइँदैन। नेपालमा नपाउने औषधी अस्पतालले शल्यक्रिया पूर्व नै व्यवस्था गर्नुपर्ने थियो। व्यवस्था नभएको खण्डमा हामीलाई हामीलाई पहिल्यै नै भन्न पर्थ्यो । शल्यक्रियाको केही घण्टामा आईसीयूभित्र मेरो बुबाको स्वास्थ्य अवस्था बिग्रन थालेपछि बल्ल उहाँहरु (अस्पतालका डाक्टर) औषधी खोज्न थाल्नुभयो।

नेपालमै नपाउने औषधी हतार–हतार कसरी खोज्नु? मेरो बुबालाई हामीले विगत ४ महिनादेखि नै सिएमसीमा उपचार गराइरहेका थियौं। मेरो बुबाको अवस्था इमरजेन्सी सर्जरी नभई इलेक्टिभ सर्जरी थियो।

त्यसैले शल्यक्रिया गर्नु पूर्व केही दिन अझै उपचार गरेको भए यो घटना नहुने थियो कि भन्ने हाम्रो ठहर छ। त्यतिमात्र होइन अस्पतालमा कलेजो प्रत्यारोपण फिजियसनहरु र डिएम गरेको Endocrinologist हुँदाहुँदै उहाँहरुको राय के थियो र स्वीकृति लिएको कि के गरियो भन्ने कुरामा पनि शंका छ।

यसमा शल्यक्रिया गर्ने चिकित्सकहरुको दक्षतामाथि पनि प्रश्न छ। यतिको उच्च थाइराइड लेबलको बेलामा कलेजो प्रत्यारोपण जस्तो शल्यक्रिया गर्न मिल्ने–नमिल्ने कुराको पनि छानबिन होस् भन्ने माग छ।

कलेजो प्रत्यारोपण पश्चात लगत्तै त्यहि अपरेशन टेबलमा मेरो बुबाको मृगौलामा भएको पथ्थरीको शल्यक्रिया सोही अस्पतालमा डाक्टर राजीव शाहले गरे। र, कलेजो प्रत्यारोपण शल्य चिकित्सक भनिएका डा. सञ्जयकुमार यादवका अनुसार मेरो बुबाको मृत्यु मृगौलाको पथ्थरीको शल्यक्रिया गर्दा संक्रमण भएर भएको हो।

त्यसरी उच्च संक्रमणको सम्भावना हुँदाहुँदै त्यसलाई चाहिने ख्याल, औषधी र सावधानी चिकित्सकहरुबाट भयो भन्ने कुरामा आशंका छ। त्यसरी ज्यान जानेगरी संक्रमण हुनसक्ने शल्यक्रिया प्रत्यारोपण लगत्तै जरुरी थियो–थिएन, त्यसमाथि पनि छानबिन हुनुपर्ने माग छ।

साथसाथै संक्रमण भएर मृत्यु नै हुनेगरी मृगौलाको पथ्थरीको शल्यक्रिया गर्ने शल्य चिकित्सक डाक्टर राजीव शाहमाथि पनि उचित छानबिन गर्न माग गर्दछु। र, साथसाथै कलेजो प्रत्यारोपण गर्ने डाक्टरले हामीलाई मृत्युको कारण समेत गलत बताएका छन् । यसमा समेत छानबिन हुनुपर्ने माग गर्दछु।

प्रत्यारोपण अगाडि कलेजो दाताको बारेमा सोधपुछ गर्दा, शल्यक्रियाको महिना दिन नपुग्दै पहिला गर्ने जस्तो काम सामान्य गर्नहुन्छ भनेर समेत हामीलाई सल्लाह दिए। तर, आज २ महिना बित्दासमेत मेरी आमा राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न। पहिला मेरी आमाको स्वस्थ्य अवस्था कस्तो थियो र अहिले कस्तो भएको छ त्यो हामीलाई मात्र थाहा छ। कतैकतै अब हिँडडुल पनि राम्रोसँग गर्न सक्नुहुन्न कि भन्ने डर समेत छ।

(बोधराज पौडेल मृत्यु प्रकरणबारे हामी थप फलोअपमै छौं। अर्को श्रृंखला पढ्न हामीलाई फलो गर्नुहोला।)

प्रतिक्रिया