ह्वात्तै बढ्यो गर्मी, कहिले पर्छ पानी ?


काठमाडौं- नेपालमा केही दिनयता गर्मी असह्य रूपमा बढिरहेको छ। मनसुन जेठ १५ गते सरदर मितिभन्दा १५ दिनअघि कोशी प्रदेशबाट भित्रिए पनि अहिले भने त्यो फेरी पूर्वी एसियातिर फर्किएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार फिलिपिन्स क्षेत्र आसपास बलियो न्यूनचापीय प्रणाली बनेपछि मनसुनी वायु कोशीबाट सोहोरिएको हो। “मनसुन पूर्वी एसियातिर मोडिएपछि अन्य प्रदेशमा फैलिन पाएन,” उनले भने, “अझै केही दिन मनसुन सक्रिय हुने सम्भावना देखिँदैन।”

मनसुन भित्रिएको दुई दिनमै पूर्वी नेपालमा भारी वर्षा र बाढी आयो। धरान–धनकुटा सडकखण्ड बगायो, झापामा माइखोलाको बाढीले २२ घर डुबायो। तर त्यसपछि वर्षा नभएर देशभर तापक्रम चर्किएको छ।

मौसमविद्का अनुसार हाल पश्चिम तथा मध्यक्षेत्रमा पश्चिमी वायु सक्रिय रहेकाले मनसुनी वायु कमजोर बनेको छ। बंगालको खाडीबाट आउने वाष्पयुक्त हावा पनि पर्याप्त सक्रिय छैन।

झाका अनुसार अहिले देखिएको ‘मनसुन ब्रेक’को अवस्था राम्रो संकेत होइन। यसले कतै अत्यधिक वर्षा र कतै खडेरी ल्याउने जोखिम रहन्छ। तापक्रम उच्च रहँदा गर्मीले जनजीवन कष्टकर बनेको छ।

तर आशा भने बाँकी छ। झा भोलिदेखि देशका केही भागमा फेरि बदली सुरु हुने र बंगालको खाडी तथा भारतको मध्यभागमा बन्न थालेको नयाँ न्यूनचापीय प्रणालीले नेपालमा पुनः वर्षा गराउने संकेत देखिएको बताउँछन्।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष अत्यधिक वर्षा र बढ्दो गर्मीको पूर्वानुमान पहिले नै सार्वजनिक गरिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले करिब २० लाख मानिस प्रभावित हुन सक्ने आँकलनसहित राहत र उद्धारको तयारी गरिरहेको प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

प्रतिक्रिया