नेपाली सेनाका हवल्दार जिलेटिन र डेटोनेटरसहित भारतीय सीमामा पक्राउ


धार्चुला- भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ। घटना आइतबार दिउँसो धार्चुला सीमाक्षेत्रमा भएको हो, जहाँ एसएसबीले चेकपोस्टमा नेपाल फर्कदै गरेका हवल्दार यामबहादुर खत्रीलाई रोकी जाँच गर्दा विस्फोटक सामग्री बरामद गरेको हो।

खत्री सुर्खेतको पदमपुर पुख्र्यौलीका बासिन्दा हुन् र हाल कैलालीको टिकापुरमा बसोबास गर्छन। उनी धारचुला–दुम्लिङ–थिइ क्षेत्रमा टिंकर सडक निर्माण कार्यमा संलग्न थिए। काम समाप्तपछि घर फर्कदै गर्दा उनले भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए। तर, एसएसबीले झोलाबाट १ किलो जिलेटिन र ५ वटा डेटोनेटर पत्ता लगाएपछि उनलाई गिरफ्तार गरियो।

खत्री नेपाली सेनामा १७ वर्षदेखि सेवारत छन्। उनले किन विस्फोटक सामग्री बोकेका हुन् भन्ने कारण खुलेको छैन। तर प्रारम्भिक अनुसन्धान अनुसार, उनी खोला वा नदीमा माछा मार्ने उद्देश्यले यी सामग्री बोकेका हुनसक्ने बताइएको छ।

एसएसबीले खत्रीलाई उत्तराखण्ड प्रहरीको धारचुला कोतवालीमा बुझाएको छ। उनीमाथि भारतको विस्फोटक पदार्थ अधिनियमको धारा ४.५ लगाइएको छ र उनलाई डीडीहाट कारागारमा राखिएको छ। भारतीय प्रहरीले नेपाली पक्षलाई औपचारिक सूचना दिए पनि, अनुसन्धान र कारवाही आफैं गर्ने बताएको छ।

नेपाली प्रशासनले उच्चस्तरमा यसको जानकारी गराएको छ भने भारतले पनि थप जाँच बढाएको छ। सडक निर्माणमा प्रयोग हुने जिलेटिन र डेटोनेटर अन्य उद्देश्यले बोक्न प्रतिबन्धित छ।

प्रतिक्रिया