


‘जन्मदिनमा आत्महत्या’ घोषणा गरेका चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले बचायो

काठमाडौं- ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ। करिब ५ हजार मिटरको उचाइमा रहेको गोक्यो तालबाट ३६ वर्षीय छेई हुवाङको मंगलबार बिहान उद्धार गरिएको हो।
उद्धार कार्यमा पर्यटक प्रहरी भृकुटीमण्डपबाट गएको टोली संलग्न थियो। काठमाडौंस्थित चिनियाँ दूतावास र पेम्बा शेर्पा नामका व्यक्तिले हुवाङको अवस्था बारे जानकारी गराउँदै उद्धारको आग्रह गरेका थिए।
हुवाङले सामाजिक सञ्जालमार्फत ११ जुनमा, अर्थात् आफ्नो ३६औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने योजना सार्वजनिक गरेका थिए। यो पोस्ट देखेपछि चीनमा रहेका परिवारले चिन्ता व्यक्त गर्दै काठमाडौंस्थित दूतावासमार्फत प्रहरीलाई खबर गरेका थिए।
प्रहरी स्रोतका अनुसार दूतावासले उद्धारका लागि उच्च उचाइमा उड्न सक्ने हेलिकप्टरको व्यवस्था गरिदिएको थियो। गोक्योको ‘टंक इन होटल’का सञ्चालकले उनलाई सम्झाइरहेका थिए, तर सुरुवातमा उनले प्रहरीको आग्रह मान्न मानेनन्। करिब आधा घण्टा समझाइबुझाइ गरेपछि मात्रै उनी काठमाडौं फर्कन राजी भएका थिए।
हाल उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ र पर्यटक प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ।

