पत्रिका र कर्मचारी मिलेमतोमा भ्रष्टाचार : पाँचजनामाथि मुद्दा


रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकलाई औषधि स्प्रे टंकी वितरण गर्ने क्रममा टेन्डर प्रक्रिया बिना नै सेटिङमार्फत काम गराएको आरोपमा पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, सह-लेखापाल नवीनकुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र सोही पत्रिकाका पत्रकार ओमप्रकाश यादव संलग्न छन्।

आयोगका अनुसार वडानम्बर ४ अन्तर्गत कृषकका लागि आवश्यक पर्ने स्प्रे टंकी खरिदसम्बन्धी सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशन गरिएको देखाए पनि त्यो सूचना वास्तवमा सार्वजनिक रूपमा कहिल्यै प्रकाशित गरिएको थिएन। केवल कागजी प्रमाणका लागि मात्रै प्रिन्ट गरिएको पाइएको छ।

योजना नीतिविपरीत सञ्चालित भएको भन्दै अख्तियारले समाचार प्रकाशनका लागि जनसवाल राष्ट्रियलाई १ लाख ७२ हजार ८२५ रूपैयाँ, तराई एक्सप्रेसलाई ३९ हजार ४ सय रूपैयाँ, र तराई पोष्टलाई २ लाख १२ हजार २२५ रूपैयाँ भुक्तानी गरिएको प्रमाणसमेत पेश गरेको छ।

प्रतिक्रिया