काभ्रे जिल्ला प्रशासनमा टोकन प्रणाली, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य !


धुलिखेल – जिल्ला प्रशासन कार्यालय काभ्रेमा डिजिटल टोकन प्रणाली सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै मंगलबार सेवा शुभारम्भ गरेका हुन् ।

गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेसिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको प्रजिअ ढकालले बताए ।

सेवा शुभारम्भ सँगै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेद् अन्त्य हुने उनले बताए ।

सेवा लिन जो अगाडि आउँछ उसले नै पहिले सेवा पाउने, पालैपालो सेवा लिन र भीडभाडरहित सेवा व्यवस्थापनमा यो प्रणाली महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाको टोकन डिजिटल रूपमा प्राप्त गर्न सकिन्छ । सम्बन्धित शाखामा टोकन अनुसारको पालोमा सेवा उपलब्ध हुनेछ ।

सेवाग्रहीले समेत जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधिमैत्री सेवा प्रभावकारी रहेको बताएका छन् ।

 

प्रतिक्रिया