पूर्वमै सीमित मनसुन अब विस्तार हुँदै, एक हप्ताभित्र सक्रिय हुने अनुमान


काठमाडौं — यस वर्ष मनसुन जेठ १५ गते (जुन २७) का दिन औसत मितिभन्दा केही अगाडि नेपाल प्रवेश गरेको छ। बंगालको खाडीबाट विकसित भई कोशी प्रदेश हुँदै प्रवेश गरेको मनसुन हालसम्म देशभर फैलिन सकेको छैन। हाल कोशी क्षेत्रमा मात्र सक्रिय रहेको मनसुन पश्चिमतर्फ विस्तार हुन सकेको छैन।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पूर्वी हावा पश्चिमतर्फ जान नसकेको हुँदा मनसुन पूर्वमै सीमित भएको हो। तर, अब केही दिनमै मनसुन क्रमशः सक्रिय हुने र आगामी बुधवार वा बिहीवारदेखि देशभर फैलिन सक्ने अनुमान गरिएको छ। करिब ७ देखि १० दिनभित्र मनसुन सम्पूर्ण नेपालभर फैलिने सम्भावना देखिएको छ।

नेपालमा मनसुन सामान्यतया पूर्वबाट प्रवेश गर्ने गर्छ, जसले गर्दा पूर्वमा वर्षा शुरु भए पनि पश्चिममा ढिलोगरी सक्रिय हुने सामान्य प्रक्रिया हो। पछिल्ला तथ्यांकअनुसार नेपाल प्रवेश गरेको मनसुन कहिलेकाहीं २० दिनभन्दा बढी समयसम्म पनि पूर्णरूपमा सक्रिय हुन नसकेको उदाहरणहरू छन्।

यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने र तापक्रम पनि उच्च रहने पूर्वानुमान मौसम विभागले गरिसकेको छ। यस्तो अवस्थामा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक जोखिम उच्च रहने भएकाले नागरिकहरू सतर्क र सचेत रहन विभागले आग्रह गरेको छ।

नियमित रूपमा मौसम पूर्वानुमान हेर्नु, सुरक्षित स्थानमा बसोबास गर्नु र आकस्मिक अवस्थाको तयारीमा रहनु सबै नागरिकका लागि आवश्यक भएको मौसमविद्को सुझाव छ।

प्रतिक्रिया