रनवीर नेपालीको हत्यामा संलग्न सार्की १४ वर्षपछि पक्राउ


पाल्पा- माथागढी गाउँपालिका–१ चिदिपानीका १८ वर्षीय रनवीर नेपालीको १४ वर्षअघि भएको हत्याका अभियुक्त सन्तबहादुर सार्की पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो रुपन्देहीको बेलहियास्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

२०६८ साल कात्तिक ११ गते राति करिब ११:३० बजे घरायसी विवादपछि चक्कु प्रहार गरी रनवीरलाई गम्भीर घाइते बनाइएकाे र उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। त्यसयता फरार रहँदै आएका सार्कीलाई प्रहरीको विशेष निगरानी र सूचनाका आधारमा पक्राउ गरिएको हो।

भट्टराईका अनुसार सार्की भारतको दिल्लीमा लुकिछिपी बस्दै आएका थिए। कान्छी श्रीमती र छोराछोरी सहित सम्पूर्ण परिवार दिल्ली र हरियाणामा लुकेर बस्दै आएको अनुसन्धानबाट खुलेको छ। उनी नेपाल फर्किएको समयमा विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो।

उनविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया