अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ


काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २१ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडाैंको  चन्द्रागिरी नगरपालिका-८ बौथलीचोक बस्ने  ६० वर्षीय भाईराज श्रेष्ठलाई अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ८ सय ७५ ग्राम र चरेश जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल आफलडोलबाट नियन्त्रित लागूऔषध नोफिन २९ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन ५४ एम्पुल, सिरिन्ज ५२ थान, नगद १ लाख ३७ हजार ५ सय ६५ नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँ र मोबाइल ८ थान सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३६ वर्षीय सुरज बानिया, सोही नगरपालिका-९ लुभु बस्ने २८ वर्षीया निनामा राई, २५ वर्षीय आयुष राई, सोही नगरपालिका-३ बोझेपोखरी बस्ने २३ वर्षीय अन्जन राना र सोही नगरपालिका-१ बस्ने मोरङ विराटनगर घर भएका ३३ वर्षीय अजय गौतम रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले अजय गौतमको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ भैरहवा बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ९७ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत कानपुर बस्ने २४ वर्षीय साहवान खान, २२ वर्षीय फैसल खान र २४ वर्षीय साहजन खान रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र टालजेसीक ७५ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-१ बस्ने २२ वर्षीय कृष्ण विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१० पथ्थरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ कटुकी बस्ने २८ वर्षीय केशव डाँगी र सोही उपमहानगरपालिका-९ मछाई बस्ने २२ वर्षीय केशव घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बाँसबारी बस्ने २३ वर्षीय रोनिस दाहाल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०१०९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ अनारमनी बस्ने ४२ वर्षीया अन्जु मण्डल र सोही नगरपालिका-१ सूर्यनगर बस्ने २४ वर्षीय अशारू चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ बस्ने २६ वर्षीय सुरज सुनार र २६ वर्षीय सुमित विक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेको बा.प्रदेश ०२-०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-९ न्यूरोड बस्ने गोरखा पालुङटार नगरपालिका-१० घर भएका २५ वर्षीय दिनेश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग.२ ख १६१९ नम्बरको माईक्रोबसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  ।

कैलाली, लम्कीचुहा नगरपालिका-४ चौरीपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६ ट्याब्लेट सहित सोही नगरपालिका-६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४० ट्याब्लेट सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया