


आमाकै काखबाट चितुवाले उत्सवलाई खोसेपछि…

तनहुँ — तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाका कारण हरेक वर्ष कैयौं मानिसहरुको ज्यान गइरहेको छ ।
पछिल्लो पटक ५ वर्षीय बालकले घरकै पिँढीमा आमासँगै बसिरहेका बेला चितुवाको आक्रमणमा परेपछि ज्यान गुमाएका छन् । घरकै पिँढीमा आफूसँगै खेलिरहेको छोरालाई चितुवाले खोसेपछि अहिले उनी भावविह्वल बनेकी छिन् ।
बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङको पाँच वर्षीय छोरा उत्सव गुरुङलाई सोमबार साँझ ७ः३० बजे आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाले चितुवाको आक्रमणबाट घाइते बालक बन्दीपुर अस्पताल बन्दीपुरमा उपचारको क्रममा सोमबार साँझै ८ः२० बजे मृत्यु भएको बताए ।
बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले घरको पिँढीमा आमासँगै बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जानकारी दिए ।
चितुवाले आक्रमण गरेपछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको वडाध्यक्ष कुँवरको भनाइ छ ।
तनहुँको यस क्षेत्रमा विगत लामोसमयदेखि चितुवाको आक्रमणबाट स्थानीयहरुले ज्यान गुमाउँदै आएका छन् ।
स्थानीय सरकार र प्रशासनले चितुवाबाट ज्यान जोगाउनका लागि विभिन्न कार्यक्रम एवं अभियानै नै सञ्चालन गरेपनि कम भने हुन सकेको छैन ।
वन संरक्षणका नाममा बढ्दै गएको जंगलका कारण र जनसंख्या घट्दो क्रममा रहेका कारण जंगली जनावरहरु घर वस्तीहरुको नजिक आउने गरेका छन् ।

