उपत्यकामा ७ हजार ५ सय बढी प्रहरी एलर्ट!


काठमाडौँ – कोरोना संक्रमण फैलनबाट रोक्न लकडाउन र निषेधाज्ञालाई कडाइपूर्वक लागू गरेको नेपाल प्रहरीको काँधमा अब दशैंं–तिहारमा हुने आपराधिक गतिविधी नियन्त्रण गर्ने जिम्मेवारी आएको छ। २१ असोजबाट दशैंं सुरु हुँदैछ।

दशैंं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमार जस्ता घटना बर्षेनी बढिरहेको घटनाहरु बेला–बेला आइरहेको अवस्थामा त्यस्ता घटना नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‘सुरक्षा योजना’ सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले अनलाइनन्युजलाई बताए।

काठमाडौँ, भक्तपुर र ललितपुरका १७७ ठाउँमा प्रहरीले नियमित निगरानी गर्नेछ। १३१ ठाउँमा नियमित चेकिङ हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको दशैंं सुरक्षा योजनामा उल्लेख छ। त्यस्तै ३९ ठाउँमा मोबाइल गस्ती परिचालन हुनेछ।

७९ स्थानमा पैदल गस्ती परिचालन हुने, १५९ ठाउँमा पिकेट टिम परिचालन, बैंक वित्तिय संस्था रहेको २८ ठाउँमा प्रहरी परिचालन, सादा पोसाकमा ५२ ठाउँमा निगरानी, मापसे चकिङ ६७ ठाउँमा, लामो दुरीमा सवारी साधन चेकजाँच १० ठाउँमा, २२ ठाउँमा ‘कर्डन एण्ड सर्च अप्रेशन’ र अपराध महाशाखाबाट १३६ जना सादा पोसाकमा प्रहरी परिचालन हुनेछ।

आवश्यकता अनुसार नागढुंगा, फर्पिङ, जगाती चेक प्वाइन्ट लगायतका नाका, व्यापारिक स्थान तथा अन्य स्थानहरुमा तालिम प्राप्त कुकुरहरुको प्रयोग गरी स्निफिङ व्यवस्था मिलाइएको एआईजी पाल बताउँछन्। पालका अनुसार त्यस्तै होटेल, लज, रेष्टुरेन्ट, पुल हाउसहरुलाई निगरानिमा राखि आवश्यकता अनुसार प्रहरी परिचालन हुन्छ।

काठमाडौं प्रहरीः ‘कर्डन एण्ड सर्च अप्रेशन’

दशैंं–तिहारमा हुने आपराधिक गतिविधी नियन्त्रण गर्न काठमाडौँमा मात्रै करिब ४ हजार प्रहरी परिचालन गरिएको छ। चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

एसएसपी सिंहले भने भने, ‘गेष्ट हाउस र होटलमा सर्च अप्रेशन चलाउँछौं, लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोसाकमा प्रहरी खटाएर निगरानी गर्छौं।’ धेरै भीडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ।

काठमाडौँ प्रहरीले लामो दुरीमा चल्ने सवारी सञ्चालकबाट भएका यात्रु तानातान र ‘टिकट ठगी’ मा संलग्न व्यक्तिहरुलाई मुख्य टार्गेट बनाएको छ। ‘सुरक्षा योजना लागू भैसकेको छ,’ एसएसपी सिंह भन्छन्, ‘काठमाडौंमा मात्रै ३६ ठाउँमा चेकप्वाइन्ट राखेका छौं।’

काठमाडौँ उपत्यकामा प्रहरीको ‘एम्बुसिङ टिम’ समेत स्ट्यान्डबाई अवस्थामा रहेको छ। नियमित ६६ वटा पिकेट ड्युटी परिचालन हुनेछ। काठमाडौँ प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मुल्यवान वस्तु नराख्न समेत अपिल गरेको छ।

सुन, पैसा र मुल्यवान ग्याजेट डेरामा नछाड्न आग्रह गर्दै एसएसपी सिंहले भने, ‘चोरको निसानामा बहुमूल्य सामान पर्ने हुनाले ति सामानलाई बैंक लकरमा राखेर जाँदा चोरी हुने जोखिम हुँदैन।’

ललितपुर प्रहरीको प्राथमिकताः ‘लुटपाट नियन्त्रण र डेराको सुरक्षा’

महानगरीय प्रहरी परिसर ललितपुरले किनमेल हुने ठाउँ र भीडभाडमा लुटपाटका घटना हुने विष्लेषण गर्दै त्यसलाई नियन्त्रण गर्ने सुरक्षा योजना लागू गरेको छ। उपत्यका छाडेर बाहिर जानेको घर, कोठामा चोरी हुने हुनाले ललितपुर प्रहरीले त्यस्तो चोरी रोक्ने विशेष सुरक्षा योजना बनाएको हो।

चाडपर्वमा हुने आपराधिक गतिविधी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने ललितपुरकी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचाचर्यले अनलाइनन्युजलाई बताइन्। एसएसपी बज्राचार्यले भनिन्, ‘मोबाइल टिम, साइकल गस्ती र सादा पोसाकका प्रहरी २४ सै घण्टा परिचालन गर्छौं।’

दशैंं, तिहार लक्षित सुरक्षा योजनाअनुसार कन्ट्रोल रुम भेहिकल (सीआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र पिकेट ड्युटी परिचालन गरिएको छ। दशैंं–तिहारको बहानामा जुवा तास खेल्नेलाई पनि कडा निगरानी गरिने एसएसपी बज्राचार्यले बताइन्। उनले भनिन्, ‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई हामी छाड्दैनौं।’

आर्थिक गतिविधी हुने ठाउँमा निगरानी

त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरले धेरै आर्थिक कारोबार हुने स्थानमा निगरानी बढाएको छ। चोरी र लुटपाटका घटना हुनसक्ने हुनाले त्यस्ता ठाउँमा सक्रियता बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले बताए।

‘सपिङ कम्लेक्स र सुन पसललगायत ठूलो परिमाणमा आर्थिक गतिविधी हुने ठाउँमा सचेतना अपनाएका छौं,’ एसपी श्रेष्ठले भने, ‘लामो लकडाउनका कारण आर्थिक अपराध बढ्न सक्ने विश्लेषण गरेर त्यस्ता ठाउँमा निगरानी बढाएका हौं।’

भक्तपुरमा चाडपर्व सुरक्षामा एक हजारभन्दा धेरै प्रहरी सादा पोसाक र बर्दीमा परिचालन गरिएको छ। प्रहरी परिसर भक्तपुरले १५ ठाउँमा चेकप्वाइन्ट राखेको छ। त्यस्ता चेक प्वाइन्ट नाला, ब्रम्हायणी, जगाती, मनहरा पुल, चाँगु, नगरकोट, सिरुटार र काँक्रबारीमा राखिएको छ।

चाडपर्व लक्षित पिकेट ड्युटी १२ ठाउँमा, मोबाइल ड्युटी विभिन्न ठाउँमा र ३ वटा स्ट्राइकिङ टोली परिचालन गरिएको छ। १९ वटा क्यूआरटी (क्विक रेस्पोन्स टिम)ले २४ सै घण्टा अपराधीक गतिविधीको निगरानी गरिरहन्छ।

‘महिला हिंसाका घटना र पाकेटमारी नियन्त्रण गर्न पनि टिम परिचालन गरेका छौं,’ एसपी श्रेष्ठले भने, ‘नाका र व्यापारिक स्थानमा डग स्निफिङ पनि गराउँछौं, चोरी, लुटपाट र मापसेबाट हुने ग्याङफाइट नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरेका छौं।’

प्रहरीलाई बिदा छैन, उपत्यकामा ७,५७५ हजार परिचालन

दशैंंको बेला उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा नपाउने भएका छन्। कोभिड–१९ को जोखिम र चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता सुशील सिंह राठौरले बताए।

उनले भने, ‘दशैंं–तिहारको बेला सुरक्षाका लागि उपत्यकामा ७ हजार ५ सय ७५ जना प्रहरी परिचालित हुन्छन्, त्यसैले बिदा दिने अवस्था छैन्।’ उपत्यकाका वृत र प्रभाग प्रमुखहरुलाई कार्यालयमा ‘उल्लासपूर्वक’ दशैंं मनाउन महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ। ‘काममा ध्यान दिँदै उल्लासपूर्वक दशैंं मनाउन’ मातहतलाई निर्देशन दिइएको राठौरको भनाइ छ।

महानगरीय प्रहरी कार्यालयको समन्वयमा तीनवटै जिल्लामा बढी भीडभाड हुने ठाउँमा ‘हेल्प डेस्क’ राखिएको छ। कलंकी, बल्खु, कोटेश्वर, गौशाला, बाईपास, सितापाइला, सुन्धारा, सातदोबाटो र जगातीलगायतका स्थानमा त्यस्ता ‘हेल्प डेस्क’ छन्। जहाँबाट सर्वसधारणले प्रहरी सेवा लिन सक्छन्।

प्रहरीलाई सम्भावित चुनौतिहरु

१. विभिन्न उच्छृंखल व्यक्तिहरुबाट शान्ति सुरक्षामा असर पुग्ने खालको क्रियाकलापहरु गर्न सक्ने।

२. मादक पदार्थ सेवन गरी व्यक्ति तथा समूह–समूहबीच झैझगडा एवं कुटपिटको घटना घट्न सक्ने।

३. जुवा, तास, लंगुरबुर्जा लगायतका खेलहरु खेलाई सामाजिक विकृति बढाउन सक्ने।

४. पकेटमारी, चोरी, लुटपाट, डाँका जस्ता घटना घट्नसक्ने।

५. विभिन्न हात हतियारको प्रयोग गरी अपराधिक घटना घटाउनसक्ने।

६. मादक पदार्थ सेवन गरी सवारी चलाई सवारी दुर्घटना हुनसक्ने।

७. उपत्यकाको विभिन्न स्थानहरुमा लाग्ने परम्परागत धार्मिक जात्राहरुमा सुरक्षा खतरा हुनसक्ने।

८. उपत्यकामा स्थायी घर ठेगाना भई अन्यत्र जिल्लाहरुमा वसोवास गर्ने व्यक्तिहरु चाडवाडको समयमा स्थायी घर ठेगानामा आउने हुनाले पुरानो रिसिइवीको कारणले झै–झगडा गर्न सक्ने।

९. पटका, आतिस बाजी पड्काई आगलागिका घटना घट्नसक्ने, यसको आयात ओसारपसार हुनसक्ने।

१०. चाडपर्वको मौका छोपी उद्योगपति, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जबरजस्ती चन्दा संकलन गर्नसक्ने।

११. सर्व साधारणहरुले बैंक तथा बित्तिय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुनसक्ने चोरी, लुटपाट, ठगी र डकैती जस्ता घटनाहरु हुनसक्ने।

१२. बजारमा कृतिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि जस्ता कार्यहरु हुनसक्ने।

१३. इन्धन अभावको कारण देखाई लामो छोटो दुरीका भाडाका सवारी साधनहरुले यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कार्यहरु गर्नसक्ने।

१४. चाडपर्वको नाममा विभिन्न बहाना बनाई आर्थिक लाभ लिनसक्ने।

प्रतिक्रिया