

मदन भण्डारीको देहान्तपछि माधव नेपालले भनेका थिए– म कार्यबाहक महासचिव लिन्न

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरविरोध भएपछि विभिन्न विज्ञप्ति र वक्तव्य निकाल्ने क्रममा माधवकुमार नेपालले आफ्नो ओहदामा खुलाउँछन्– बरिष्ठ नेता, नेकपा एमाले।
एमालेको विधानसहित औपचारिक निर्णयले उनलाई बरिष्ठ नेता भनेर चिन्दैन। एमालेको विधानअनुसार महाधिवेशनअघि नेतृत्व गरिरहेको मुखियाचाहिँ बरिष्ठ नेता हुन्छ। यस अर्थमा एमाले बरिष्ठ नेता हुन्– झलनाथ खनाल।
हालैमात्र नेपालसहित खनाललगायतलाई एमालेबाट कारबाही गरी निष्काशन गरिएको छ। यद्यपि, नेता नेपालको चरित्र कस्तो हो र थियो?
‘आफूनिकट नहुने र आफूले भनेका निर्णय नमान्नेलाई त खरानी बनाउनेगरी काम गर्ने मानिस हुन्’, उनीसँग मालेमा रहँदा काम गरेका नेकपा अध्यक्ष ऋषिराम कट्टेलले भनेका छन्,‘एमालेका आफूइतरका धेरै नेतालाई महासचिव हुँदा कारबाही गर्ने र किनारा लगाउने काम गरेका छन्।’
एमाले गठनसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा नेपालको सक्रिय भूमिका नरहेको भने होइन। उनकै दाबीअनुसार कोओर्डिनेशन केन्द्र गठनका क्रममा नेपाल पनि सक्रिय भएकै हुन्। तर, उनमा पदीय कुन्ठाका कतिपय उदाहरण स्पष्ट देखिएका थिए।
जनआन्दोलन सफल भएपछि दशरथ रंगशालामा भएको विशाल जनसभामा नेता नेपालकै डिजाइनका आधारमा तत्कालिन महासचिव मदन भण्डारीलाई भाषण गर्नबाट रोकिएको कतिपय पुराना कम्युनिस्ट नेता बताउँछन्। उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले त एउटा पुस्तकमा लेखेका छन्,‘जनसभाको तलबाट मदन भण्डारीले बोल्नुपर्छ भन्ने हुटिङ भएको थियो तर उहाँलाई भाषण गर्न रोकियो। तर, उनले कसले रोक्यो भन्ने नामचाहिँ खुलाएका छैनन्।’
३ जेठ ०५० सालमा महासचिव भण्डारी र स्थायी कमिटी सदस्य जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो। त्यसपछि एमालेमा खुला भयो नेता नेपालको कुन्ठा। एक नेता भन्छन्,‘यति धेरै कुन्ठा र पदीय लोभचाहिँ त्यसबेला प्रकट भएको थियो।’
भण्डारीको निधनपछि दर्जन जति नेताले सल्लाहका आधारमा नेपाललाई ‘कार्यबाहक महासचिव’ मात्र बनाउने तयारी र सल्लाह गरेका थिए। बैठकका क्रममा नेपालले अहंकार देखाउँदै भनेका थिए,‘म कार्यबाहक? मलाई पूरा महासचिव पद चाहिन्छ।’
कमिटी बैठकमा लिँडेढिपी नछाडेपछि महासचिव पदको जिम्मा दिइएका नेपालले त्यसपछि १५ बर्षसम्म महाधिवेशन नै गराएनन्।
०६४ को चुनावमा रौतहट र काठमाडौंमा चुनाव आफैंले हारे र एमालेलाई तेस्रोमा झारेपछि भने उनी बाध्य भएर राजीनामा दिन पुगे। त्यसपछिको नेतृत्व केही दिन कार्यबाहका रुपमा अमृतकुमार बोहरा र त्यसपछि झलनाथ खनालले गरेका थिए।
आठौं महाविधेशनमा खनाल फेरि अध्यक्षमा निर्वाचित हुँदा नेता नेपालले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएका थिए। नवौं महाधिवेशनमा भने ओलीसँग आफैं मैदानमा उत्रिएका नेपाल पराजित भए।
नेकपा विभाजनमा नेता नेपालको भूमिका बलियो रहेको ठम्याई ओली पक्षले गरेको छ। खासगरी महाधिवेशनमा व्यहोरेको हारको बदला लिनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीलाई सिध्याउने योजना नेपालले बनाएका थिए।
एउटा अन्तरवार्ताका क्रममा उनी आफैंले भनेका छन्,‘केपी ओलीलाई ठिक पार्नका लागि एकता गरिएको हो। प्रचण्डसँग मिलेर ओलीलाई ठिक पार्नु नै मेरो उद्देश्य थियो।’
नेता नेपाल कुन्ठा र षडयन्त्रको जगमा उभिएका व्यक्ति रहेको त झापा आन्दोलनबाट कम्युनिस्ट केन्द्रमा जगजगी बनाएका माले महासचिव सीपी मैनालीले कतिपय अन्तरवार्ताहरुमा भनेका छन्।

