पूर्वजनमुक्ति सेनाकी लडाकूको पत्र: यसरी सकिनु थियो भने हिजोको नाटक केका लागि थियो ?


भूपु माओवादी नेतागणहरू,
लालसलाम।

कुन शब्दबाट सुरु गरूँ र कहाँ पुगेर अन्त्य गरूँ। जवाफ भेटिएको छैन। म रनभुल्ल परेको छु। यस्तो जटिल चक्रव्यूहमा फसेकी छु कि के लेख्ने, के नलेख्ने भनी आफैंसँगै उल्झिएकी छु। लामो समयपछि अतिततिर फर्किन मन लाग्यो। युद्धकालमा जीवन–मरणको महान अभियानमा मैले जे जति बुझेँ र देखेँ तिनै कुरालाई मैले डायरीमा यथावत राखेको थिएँ। आज ती लिखित युद्धस्मरणले नै मलाई प्रश्न गरिरहेका छन्।

जिन्दगीको चक्र यस्तै रहेछ। आशा, निराशा, सम्भावना, छटपट, आवेग र संवेदना सबै एकैसाथ उर्लिएका हुन्छन्। समयले मान्छेलाई एकपछि अर्को पाठ सिकाउँदै जाने रहेछ। यस्तोमा मलाई पनि आफ्नो जीवनयात्राको विगततिर फर्किन बाध्य बनायो। अहिले देशमा चलिरहेको राजनीतिक चहलपहलले मात्र मलाई होइन, हजारौं घाइते–अपांग, शहीद परिवार, बेपत्ता परिवार र युद्धकालमा त्याग–तपस्या र बलिदान दिने महान जनता र शुभचिन्तकलाई पनि निराशाको कालो बादलले ढाकेको छ। सन्नाटा छाएको छ।

१३ वर्षकै कलकलाउँदाे उमेरमा मैले जन्मदिने आमा–बुवालाई छोडेँ र उज्ज्वल भविष्यलाई धरापमा पार्दै किताब–कापी थन्क्याएर ‘मुक्ति वा मृत्यु’को कसम खाँदै बाल्यकालमै जनयुद्धमा होमिएँ। त्यो समय कति दुःखका घडी थियो। आज ती क्षण सम्झँदा आफैं अचम्मित हुन्छु। ती दुःख र सङ्घर्षले मलाई तयार पारे र संघर्षको जीवनलाई मैले जितेको जस्तो अनुभूति पनि भएको छ। जनयुद्धमै मेरो बाल्यकाल र जवानी बित्यो।

हाम्रो पार्टीमा बाल्यकालदेखि नै पसिना र रगत बगेको छ। भौतिक शरीर अंगभंग भयो। आज पनि ती चोटहरू भोगिरहेकी छु। शरीरभरि टुइन्च मोटारका ठूला ठूला छर्रा बोकेकी छु। चिरिएका घाउहरू छन्। ती सबैलाई मैले ‘जनयुद्धको उपहार’ सम्झेर सम्हालेकी छु।

तर, साँच्चै आज मुटुमा राँको बलिरहेको छ। जस पार्टीका लागि त्याग, तपस्या र बलिदान गरियो। आज त्यही पार्टीको नाम–निशान नै नरहन पुग्दा मैले जस्तै घाइते र इमानदार कार्यकर्ताहरूको मनमा ठूलो आश्चर्य र पीडा छ। कहिलेकाहीँ यस्तो लाग्छ  आफ्नै भविष्य गुमाएर जनयुद्धमा बेकारमा लागिएको जस्तो। आफ्नो शरीरबाट बगेको रगतले आज आफैंलाई धिक्कारिरहेको जस्तो अनुभव हुन्छ।

अन्ततः प्रश्न उठ्छ, हामी जस्ता इमानदार र सोझा हजारौं घाइते–अपांगहरूले के पाए ? केहीले अवसर र लाभ उठाए। तर, हामी जस्ता सच्चा, इमानदार कार्यकर्ताहरू सधैं ओझेलमा परेकै छौँ। सेना समायोजनको प्रकृयापछि मैले स्वैच्छिक अवकाश लिएँ र कुनै पनि संगठनमा बस्न चाहिनँ। त्यसमा गर्व थियो। आफैं लडेका इतिहासलाई शान्तिपूर्वक सम्झने गर्व। त,र आज त्यो गर्व पनि छैन। पहिले ‘माओवादी’ नाम सुन्दा आनन्द हुन्थ्यो। अब त्यही नाम पनि नेताहरूका व्यक्तिगत स्वार्थका कारण धूमिल भएको देख्दा पिडा हुन्छ।

नेताहरुलाई के थाहा होला प्रत्यक्ष मोर्चामा लड्ने, मर्ने र दुःख सहने हामी जस्ता सच्चा योद्धाहरू थियौं। रगतको आहालमा बहेर कयौँ साथीहरू र आफन्तहरूलाई हामीले आँखा अगाडि गुमायौं। त्यो पीडा अझै हामीसँगै छ। हाम्रो मन दुखिरहेको छ, छाती चर्किएको छ, मुटु पोलिरहेको छ। यदि अन्ततः सबै यही हुनेछ भने हिजोको त्यत्रो संघर्ष र नाटक के-का लागि भयो ? गरिब जनतालाई मृत्यु र विनाशतर्फ किन धकेलियो ?

तर, इतिहासले हिसाब–किताब गर्नेछ। शहीदहरूको रगतले बोल्नेछ। शहीद र बेपत्ता परिवारहरूलाई लागेको पीडा र श्रापलाई इतिहासले सम्झनेछ। एकदिन सबै कुरा खुल्नेछ। तिम्रा विचारहरू, निर्णयहरू र त्यस्ता नेताहरूको असल–अवस्था सबै प्रकट हुनेछ।

उही शुभचिन्तक घाइते योद्धा

मिना कुमारी शाही (क. शुभेच्छा)

प्रतिक्रिया