
हनुमानजीको शक्तिको आडमा प्रशासनिक अंहकार !
‘श्री पशुपतिनाथबाट भोले बाबा प्रकट भएर आए पनि मैले कसैले भनेको मान्दिनँ’ जय हनुमानजीयो वाक्य कुनै धार्मिक प्रवचनका बेला बोलेको धर्मगुरुको होइन, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको मुखबाट निस्केको भनाइ हो।
हनुमान जीको शक्तिले सहसचिव (प्रथम श्रेणी) भएको ३५ दिन पुग्दा-नपुग्दै गृह मन्त्रालय मात्रै होईन पहिलो पटक सिधै बाँकेको प्रमुख जिल्ला अधिकारीको रूपमा पोष्टिंग भएर आएपछि सिडिओ सावले आजभोली ‘हनुमान जी’ को शक्तिको आडमा बांकेमा चौतर्फी आंतक सृजना गरेका छन्। बाँके आएको केही दिनमा कर्मचारीलाई खलासीको उपमा दिएर चर्चा कमाएका सिडिओ जोशीले लुम्बिनी प्रदेश कै एउटा लोकप्रिय संचार माध्यमले संघिय राजधानी काठमाडौंबाट पत्रिका प्रकाशन गर्दै गर्दा के कति कारणले कसको आदेशमा प्रकाशन गर्न लागेको भनि संबिधानमा ग्यारेन्टी गरिएको पुर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता बिपरित हनुमान जीको शक्तिको आडमा ठाडो हस्तक्षेप गर्ने काम गरे ।
त्यसैगरी एक जना जनप्रतिनिधि (गाउँपालिका अध्यक्ष)लाई बिना कारण सार्वजनिक स्थलमा मान मर्दन र अपमानित गर्ने काम गरे भने अहिले फेरी सरकारी संचारमाध्यम गोरखापत्रमा कार्यरत एक जना स्थापित पत्रकारलाई जेन्जी आन्दोलनको क्रममा जलेर नष्ट भएको प्रशासन भवनको तस्विर लिन खोज्दै गर्दा कस्को आदेशमा किन तस्विर लिएको भनि धम्क्याउँदै सुरक्षाकर्मीलाई कडा निर्देशन दिएर तस्विर डिलिट गर्न लगाए यसरी राज्यको चौथो अंग पत्रकार, जननिर्वाचित प्रतिनिधि, राजनैतिक दलका नेताहरू, निजामति तथा सुरक्षा निकाय र जंगी अड्डाका राष्ट्र सेवकहरूको मान मर्दन गर्ने र हुर्मत लिने क्रम रोकिएको छैन।
उनले प्रशासकको दम्भ र अंहकारमा गरिरहेको यो कार्य बर्तमान युगमा सदासर्वदा गलत छ। गृह मन्त्रालयलले प्रमुख जिल्ला अधिकारी खटन पटनका लागि बनाएको मापदण्डलाई राजनैतिक शक्ति (हनुमान जी कै शक्तिको आडमा) धोती लगाई दिएर बाँकेमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेका जोशीले गत भाद्र २३ र २४ गते जेन्जी पुस्ताका नाम भएको आन्दोलनमा जिल्लामा भएको जनधनको क्षति रोक्न असफल भए।
आन्दोलनका क्रममा ५ जनाको ज्यान जाने गरी भएको जनधनको क्षतिका साथै जिल्ला प्रशासनलगायत बाँके जिल्लाका अधिकांश सरकारी कार्यालयहरू र केही जननिर्वाचित प्रतिनिधिका नीजि घरहरू समेत जलेर ध्वस्त भए तर सिडिओले बचाउन सकेनन् । हुन त, भौतिक संरचनाहरू बचाउन नसके पनि हनुमान जीको आशिर्वाद र सिडिओ को उचित सुरक्षा ब्यवस्थापनका कारण उनीलगायत हामीहरू बाँच्न सफल भयौं यो नै ठुलो कुरा हो यसका लागि सिडिओ सावलाई धन्यवाद ! साच्चिकै हनुमान जिका भक्त (सिडिओ) ले रावणले हनुमान जीको पुच्छरमा लगाई दिएको आगोले लंका जलाए जस्तै ‘अनाहकमा ज्यान गुमाएका ५ जना बाल कैदीबन्दीको ज्यान जोगाउनुका साथै आफ्नो कार्यालयलगायत दर्जनौ सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीलाई त रोक्न सक्नु पर्थ्यो नी !
यतिबेला हनुमानजीलाई लंका जलाउने मर्यादा पुरूष श्रीरामले शक्ति दिए जस्तै बिद्यमान कानूनले अधिकार दिएको छ तर के गर्नु ? उनले हनुमानजी को शक्तिले सरकारी मापदण्डलाई धोती लगाईदिए जस्तै उनको कमाण्डलाई पनि सुरक्षा निकायका प्रमुखहरूले धोती लगाई दिए । परिणामस्वरूप अनाहकमा ५ जनाको ज्यान गयो भने जिल्लाका सरकारी भौतिक संरचनाहरू जलेर खरानी भए मलाई लाग्छ यसको चुरो कारण पनि त्यही दम्भ र अंहकार नै थियो।
गृह मन्त्रालयको ‘प्रमुख जिल्ला अधिकारीको सरूवा पदस्थापन तथा काज खटाउने कार्यबिधी २०७९’ मापदण्डलाई पुर्णरूपमा पालन गरेको भए सायद अहिलेको परिस्थिति आउनबाट धेरै हदसम्म जोगिने थियो जस्तो मलाई लाग्छ। तत्कालिन असफल गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकको सचिवालय प्रमुख भएर सेवा, चाकडी गरेकै कारण मन्त्रालयमा रहेका धेरै सिनियर प्रथम श्रेणीका सहसचिवहरूलाई उछिनेर हनुमान जीले मापदण्ड बिपरित उनलाई बाँकेमा पोष्टिंग गरिदिएका हुन्।
सरकारी संचारमाध्यम गोरखापत्रमा कार्यरत एक जना स्थापित पत्रकारलाई जेन्जी आन्दोलनको क्रममा जलेर नष्ट भएको प्रशासन भवनको तस्विर लिन खोज्दै गर्दा कस्को आदेशमा किन तस्विर लिएको भनि धम्क्याउँदै सुरक्षाकर्मीलाई कडा निर्देशन दिएर तस्विर डिलिट गर्न लगाए यसरी राज्यको चौथो अंग पत्रकार, जननिर्वाचित प्रतिनिधि, राजनैतिक दलका नेताहरू, निजामति तथा सुरक्षा निकाय र जंगी अड्डाका राष्ट्र सेवकहरूको मान मर्दन गर्ने र हुर्मत लिने क्रम रोकिएको छैन।
जिल्लामा सिडिओ भएर आएपछि जनताको कामको सिलिसिलामा उनिसँग मेरो फोनमा १,२ पटक संवाद गर्ने संयोग जुरेको थियो तर त्यति बेला पनि उनको त्यही दुश्साहासपुर्ण दम्भ र अंहकारपुर्ण अभिब्यक्ति थियो– ‘श्री पशुपतिनाथबाट भोले बाबा प्रकट भएर आए पनि मैले कसैले भनेको मान्दैन’ भनेर उनले पंक्तिकार (नेपाली कांग्रेस बाँके क्षेत्र नं १ का सभापति) लाई भनेपछि मैले उनलाई फोन गर्न र कानुनसम्मत हुने कुनै कामको लागि अनुरोध गर्न पनि छोडिदिएँ ।
मलाई यति बेला मेरो मानसपलटमा माओबादीद्वद्वकालको समयमा २०५८/०५९ साल तिर मुलुकमा चरम संकटकाल रहेको बेलाको एउटा कुरा याद आईरहेको छ। त्यतिवेला बांकेमा एकजना मै हुँ भन्ने सिडिओ आएर अहिलेका सिडिओ भन्दा पनि क्रान्तिकारी भएर हनुमान जी कै शक्ति भन्दै जनप्रतिनिधि माननीय सांसद,राजनैतिक दलका नेता पत्रकार, उद्योगपति ब्यापारीलगायत समाजका सबै पक्षलाई यसरी नै आतंकित बनाउने काम गरेका थिए।त्यतिबेला उनै सिडिओको आदेशले गोली लागेर कारागारमा २ जना कैदी बन्दीको मृत्यु भएको थियो र त्यही कारण उनी राता रात जिल्ला छोडेर भाग्नुपर्ने अवस्था सृजना भएको थियो।
संयोगले अहिलेको सिडिओको आदेशले पनि कारागारमा सुरक्षाकर्मीको गोली लागेर ५ जना बाल कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा सुरक्षाकर्मीको गोलीबाट ५ बाल कैदीको मृत्यु भएको घटनामा सिडिओले कानुनी प्रक्रिया अघि बढाउन सहयोग नगरेको पीडित परिवारको आरोप छ । उनिहरू अहिले न्यायका लागि स्थानिय प्रशासन देखि गृह मन्त्रालयसम्म धाईरहेका छन् ।
यो घटना कुनै साधारण गल्ती होइन — सिडिओको समन्वय क्षमताको अभावमा भएका मृत्यु हुन्, जसको जिम्मेवारीबाट उनि पन्छिन सक्दैनन्। सिडिओ ले यसको जिम्मेवारी लिनैपर्छ कुनै बहानाबाजीमा भाग्न पाउँदैनन् ।
सरकारले पनि यसको न्यायोचित छानबिन गरी दोषीलाई कारवाही तथा पीडितलाई न्याय दिनुपर्छ। हेरौं अव जेन्जी सरकारले हनुमान जीको कसरी मुल्यांकन गर्छ ? त्यति वेलाको सिडिओको जस्तै अहिले पनि धेरै जनप्रतिनिधि, राजनैतिक दलका नेताहरू संचारकर्मी तथा अधिकारकर्मीहरूसँग अहिलेका सिडिओ धर्मराज जोशीको पनि दोस्रो पटक सम्बाद कमै मात्रको हुँदो रहेछ। सिडिओले प्रशासनिक दम्भका आधारमा यसरी नै धेरै ब्यक्तिहरूलाई मानमर्दन गर्ने, अपमानित गर्ने घटनाहरू निरन्तर दोहोरिदै गर्दा संचार, कानुन र मानव अधिकारसँग सम्बन्धित बिभिन्न पेशागत संघ संगठन, नागरिक समाज, अधिकारकर्मीहरू र कानुन ब्यवसायीहरूले सिडिओलाई आफ्नो क्षेत्राधिकार भित्र रहेर समाज र सेवाग्राहीहरूसँग लोकतान्त्रिक आचरणका लागि सचेत गराउंदा उल्टै सिडिओले त्यसरी सचेत गराउने कार्यमा संलग्न रहेका सामाजिक अभियन्ता,संचारकर्मी र अधिकारकर्मीहरू र उनका परिवार र आफन्तजनलाई समेत प्रतिशोध साधेर मुद्दा लगाउँछु, थुन्छु भनेर धम्क्याउनुका साथै कार्यालय समेतलाई जलाई दिने अपराधिक मानसिकताको अभिब्यक्ति दिएका छन् ।
जसको ज्वलन्त उदाहरण हो,– ईन्सेकको कार्यालय जलाई दिने र सामाजिक अभियन्ता नागरिक समाजका अगुवा कष्णप्रसाद श्रेष्ठका दाजुका छोरा बिज्ञान श्रेष्ठप्रति देखाईएको प्रतिशोध । सायद सिडिओलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक ब्ययवस्था छ भन्ने कुरा हेक्का छैन जस्तो लाग्यो नत्र भने लोकतन्त्रमा सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्नुपर्दछ भन्ने सिडिओलाई सामान्य मर्यादा सम्म ख्याल नहुनु दुःखद कुरा हो । सिडिओले पत्रकारलाई मात्रै होईन जनप्रतिनिधि, राजनैतिक दलका नेतृत्व नागरिक समाजका अघुवा,अधिकारकर्मी र निजामति कर्मचारी लाई समेत पटक पटक यसरी नै निरन्तर रूपमा हुर्मत लिने र मानमर्दन गर्दै आएका छन् ।
अरूलाई आदर्श र नैतिकताको पाठ सिकाउने सिडिओले हनुमान जी मेरा मात्रै होईनन् अरूका पनि हुन र अरू पनि म भन्दा धेरै हनुमान भक्त छन भन्ने कुरा बुझ्न जरूरी छ। गृह मन्त्रालयमा प्रथम श्रेणीका सिनियर सहसचिवहरूले जिल्लाको सिडिओ नपाउदै गर्दा प्रथम श्रेणीमा बढुवा भएको ३५ दिन नपुग्दै तत्कालिन गृह मन्त्री रमेश लेखकको सचिवालयमा बसेकै कारण बाँकेको सिडिओ पोष्टिंग पाएका धर्मराज जोशीले म कसरी बाँके आएँ भन्ने कुरा बुझ्न जरूरी छ। उनलाई लाग्ला म त प्रथम श्रेणीको सहसचिव हुँ तर यहाँ द्वितीय श्रेणीका पनि सिडिओ भएर आए ? हो पक्कै पनि सुर्य बहादुर खत्री र राम बहादुर कुरूवांगलगायत केही द्वितिय श्रेणीका अधिकृतहरू बाँकेमा सिडिओ भएर आए, तर यो पनि बुझ्न पनि जरूरी छ की उनीहरू कम्तिमा ३,४ वटा क र ख बर्गका जिल्लाको सिडिओ चलाएर बाँकेको सिडिओमा पोष्टिंग भएर आएका थिए । सायद त्यतिवेला मन्त्रालयको मापदण्ड पनि थिएन। तर मलाई लाग्छ तह र श्रेणीभन्दा मान्छेको क्षमता, योग्यता र ब्यवहारले जिल्ला चल्दोरहेछ जो सँग म प्रशासक हुँ, मैले अरूमाथी शासन चलाउने हो भन्ने मानसिकताको विकास हुन्छ तब तह र श्रेणीको कुनै अर्थ रहँदैन।
द्वितिय श्रेणी कै भए पनि कुरूवांग र खत्रीलगायतका सिडिओहरूलाई बाँकेको चेतनशील समाजले अहिले पनि सम्झिन्छ । पक्कै पनि उनिहरूले बाँकेमा प्रशासनसँगै समाज प्रति देखाएको लोकतान्त्रिक ब्यवहारले हो भन्ने मलाई लाग्छ । प्रशासक हुँ मैले जे गर्दा पनि हुन्छ भन्ने दम्भ र अंहकार बोकेका सिडिओ सावले द्वितिय श्रेणीमा कति वटा र प्रथम श्रेणी सहसचिवमा कति वटा क र ख जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेर बाँके पोष्टिंग पाएका हुन् त्यो मलाई भन्दा उनलाई नै धेरै थाहा होला। तर फेरी पनि म उनको केही नेतृत्व क्षमताको सम्मान गर्दै यो लोकतान्त्रिक, गणतान्त्रिक ब्यवस्था हो । यो ब्यवस्थामा सबै समान हुने भएकाले पंचायतकाल र शाही शासनकालका प्रशासकको जस्तो दम्भ र अंहकार त्यागेर तानाशाह बन्ने सोचबाट मुक्त हौऊ र सबैको आत्म सम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक भन्ने सुझाव दिन चाहान्छु।
(लेखक नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् )



पोषण केसी |
