सामाजिक सुरक्षा भत्ता मृतकको नाममा वितरण, वडाअध्यक्षसहित ८ जनामाथि मुद्दा


काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार वडा अध्यक्ष भण्डारीसँगै तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट र वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल तथा शेरबहादुर विश्वकर्मालाई समेत प्रतिवादी बनाइएको छ।

उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बराबरको बिगो माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अनुसन्धानबाट आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नभएका लाभग्राहीका नाममा रकम भुक्तानी गरिएको तथ्य फेला परेको हो।

आयोगले प्रतिवादीहरूले बदनियतपूर्वक सरकारी सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसूरजन्य कार्य गरेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया