निर्मलालाई न्याय माग्दा चोट पाएका देउवाको चौथो शल्यक्रिया, अड्कियो न्याय प्रक्रिया


काठमाडाैं- कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे ६ वर्ष पुगिसकेकाे छ । १० साउन २०७५ मा उनकाे हत्या भएकाे थियाे ।

निर्मला पन्तलाई न्यायको माग गर्दै जिल्लामा ठूलाे आन्दोलन भएकाे थियाे । साेही आन्दोलनमा सन्नी खुन्नाकाे मृत्यु भएकाे थियाे भने कयाैं घाइते भएका थिए । तिनै घाइतेमध्येका एक हुन्, सुरेन्द्र देउवा ।

उनकाे हातमा चाेट लागेकाे थियाे । अस्ति (सोमबार)  उनकाे हातकाे  चौथोपटक शल्यक्रिया गरिएको छ। देउवाको भारतको बरेलीस्थित सिद्दीविनायक अस्पतालमा शल्यक्रिया गरिएको हो।

उनले आफू आन्दोलनका क्रममा घाइते भएको र आफ्नो हातको चौथोपटक शल्यक्रिया गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।

उनकाे चाैथाेपटक शल्यक्रिया हुँदा पनि निर्मलाले भने न्याय पाएकी छैनन् । उनकाे हत्यारा पत्ता लागेकाे छैन ।

६ वर्षअघि २०७५ साल साउनमा उक्त घटना हुँदा हालका गृहमन्त्री रमेश लेखकको पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा थियो । लेखक दोषीलाई कारबाहीका लागि सबैभन्दा कडा रूपमा प्रस्तुत भएका नेताहरूमा पर्छन् ।  उनी  निर्मलाको न्यायका लागि भएको आन्दोलनमा सहभागी पनि भएका थिए ।

आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न कञ्चनपुरमा अस्पतालमै पुगेका थिए । उनले निर्मलाका परिवारलाई लगेर तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटाएका थिए ।

२०७५ कात्तिकमा रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा लेखकले भनेका थिए, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्दाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ । प्रहरी अधिकृतहरूलाई बर्खास्त गरेर मूल विषयवस्तुबाट पन्छिने प्रयत्न गर्न मिल्दैन ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको र अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको उनकाे आरोप थियाे । तर, अहिले आफै गृहमन्त्री बन्दा भने उनी सो विषयमा मौन छन् । अहिले कञ्चनपुर पुगेका उनले हालसम्म याे विषयमा केही बाेलेका छैनन् ।

कञ्चनपुर जानुअघि धनगढी विमानस्थलमा उनलाई पत्रकार भानुभक्त आचार्यले निर्मलाको गृहजिल्लाको गृहमन्त्री हुँदा न्याय पाउने कुरा कहाँ पुग्यो ? अनुसन्धान के हुँदै छ ? भनेर प्रश्न गर्दा लेखकले ‘त्यो घटनाको पनि अनुसन्धान भइरहेको छ र त्यसले निरन्तरता पाउँछ । थप अनुसन्धान पनि हुन्छ ‘  मात्रै भनेका थिए ।

प्रहरीले भने निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारी भन्छन्, ‘प्रदेश र जिल्लाका छुट्टाछुट्टै टोली खटाइएको छ भने सीआईबीको टोली पनि लागेको छ । निर्मला हत्याकाण्डको रहस्य छिट्टै बाहिर आउँछ भन्ने हाम्रो विश्वास छ ।’

उक्त प्रकरणमा हालसम्म ६ सय ५६ जनामाथि अनुसन्धान भएको बताइएको छ । १ सय ६४ जनाको डीएनए परीक्षण गरेरै अनुसन्धान गरिएको छ ।

निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन् । भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्‍यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे । डीएनए ‘म्याच’ नभएपछि विष्ट छुटे ।

अपराध अनुसन्धानमा गम्भीर लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भएका थिए ।

विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाइसकेका छन् । एसएसपी बनेका दिल्लीराज बिष्ट आइतबार अनिवार्य अवकाशमा गइसकेका छन् । सफाई पाएर पुनः सेवा थालेका उनी पछिल्लो समय सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

 

 

प्रतिक्रिया