


सालोको हत्या अभियोगमा भिनाजु पक्राउ

रामेछाप – रामेछापमा सालोको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
मंगलबार राति ६ बजेतिर रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षीय लबकुमार थापामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले जानकारी दिए।
लबकुमारको हत्या आरोपमा प्रहरीले भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमालीलाई पक्राउ गरेको छ। लबकुमार आफ्नो कोठामा सुतिरहेको बेलामा कसैले धारिलो हतियार प्रहार गरी भागेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गरी भिनाजु नाता पर्ने विनोदकुमार घटनास्थलमा नरहेको थाहा पाएको थियो।
प्रहरीले उनलाई मध्यराति रामेछाप–५ रामपुर कोलन्जोरबाट पक्राउ गरेको थियो। ‘उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ। हामीले पृष्ठभूमि हेर्ने काम गरिरहेका छौं,’ डिएसपी भट्टले भने। घटनाबारे अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रामेछापबाट १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

