


कैलालीमा प्रहरीले गोली चलायाे, टीकापुर खुकुरी प्रहार प्रकरणका आरोपी समातिए

कैलाली — कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, गत जेठ १५ गते टीकापुरमा टेकेन्द्र सिंह विष्टमाथि भएको खुकुरी प्रहार घटनामा संलग्न रहेका दुई युवकलाई पक्राउ गर्ने क्रममा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले भजनीमा बिहीबार दिउँसो गोली चलेको पुष्टि गरेका छन्। उनका अनुसार, घटनासँग सम्बन्धित भनिएका रिदम ढुंगाना र मिलन चन्दलाई कैलारी गाउँपालिका–२ स्थित शिवरत्नपुरबाट पक्राउ गरिएको थियो।
उनीहरूलाई भजनीमा ल्याउँदा भाग्ने प्रयास गरेपछि प्रहरीले पहिला दुई राउन्ड हवाई फायर गर्यो। त्यसपछि नियन्त्रण बाहिर जान थालेपछि उनीहरूलाई खुट्टाको घुँडामुनि गोली हानिएको प्रहरीले जनाएको छ। दुवै जना घाइते भएका छन् र उनीहरूको अहिले सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ।

