मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियारको फन्दामा


काठमाडौं — जनता समाजवादी पार्टीका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियार टोलीले उनलाई काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित कुशवाहाका काठमाडौंस्थित निवासमा अख्तियारले जेठ १२ गते छापा मारेको थियो। छापा मार्ने क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पनि नियन्त्रणमा लिइएको थियो।

अनुसन्धान टोलीले कुशवाहाको घरबाट विभिन्न योजनासम्बन्धी कागजात बरामद गरेको छ। साथै, मोबाइलसमेत नियन्त्रणमा लिई डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो।

कुशवाहा मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन्। उनीमाथि सार्वजनिक पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया