पत्रकार नारायण अर्याल पक्राउ


काठमाडौं— पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा उनका सहकर्मी पत्रकार नारायण अर्याललाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्सबाट पत्रकार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। लम्सालले सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउप्रति आपत्ति जनाउँदै घटनाको निन्दा गरेका छन्।

प्रहरी स्रोतका अनुसार पत्रकार दिलभूषण पाठकले झन्डै तीन साता अघि सार्वजनिक गरेको युट्युब भिडियोका कारण साइबर ब्यूरोमा उजुरी दर्ता भएको थियो। उक्त भिडियोमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनीहरूका पुत्र जयवीर देउवाको हिल्टन होटलमा रहेको भनिएको लगानीबारे विषय उठाएका थिए।

उक्त भिडियोप्रति आपत्ति जनाउँदै उजुरी परेपछि साइबर ब्यूरोले पाठकमाथि अनुसन्धान अगाडि बढाएको हो। बुधबारदेखि पाठकलाई पक्राउ गर्न खोजिरहेको प्रहरी उनलाई नभेटेपछि बिहीबार सहकर्मी अर्यालमाथि निगरानी बढाएको थियो।

प्रहरीले पत्रकार अर्याललाई किन र कुन कानुनी प्रावधानअनुसार पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन। प्रेस संगठनहरूमध्ये नेपाल प्रेस युनियनले घटनालाई प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै तत्काल रिहाइको माग गरेको छ।

यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बहसलाई पुनः चर्काएको छ।

प्रतिक्रिया