


एयर इन्डिया दुर्घटनामा २४१ विमानमा सवारसहित कम्तीमा २९० को मृत्यु
मृतक संख्या अझै बढ्न सक्ने

काठमाडौं – भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ ।
गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अहमदावादबाट लन्डन जाँदै गरेको उक्त विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ ।
एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएका छन् । ती व्यक्ति दुर्घटनाग्रस्त विमानबाट हाम फालेर ज्यान जोगाएको जनाइएको छ ।
बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।

