प्रहरीका घुमुवा नै असुली धन्दामा !


बाँके- कोहलपुरको थ्रिस्टार मोबाइल पसलका सञ्चालकमाथि डर, धम्की देखाएर ५ लाख रुपैयाँ जबरजस्ती असुली गरेको आरोपमा तीन जना घुमुवा प्रहरीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी, बाँके मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष गोबिन्द भण्डारी र पत्रकार बताउने सूर्यप्रसाद रिजाल रहेका छन्।

पीडित पसल सञ्चालकले उनीहरूविरुद्ध कोहलपुर इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा बुधबार र बिहीबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

गोबिन्द भण्डारीलाई बुधबार साँझ कोहलपुर नगरपालिका–११ स्थित गोलपार्कबाट र सूर्यप्रसाद रिजाललाई नेपालगन्जको पुष्पलाल चोकबाट पक्राउ गरिएको हो। प्रहरी सहायक हवलदार खान, बर्मा र चौधरीलाई पनि क्रमशः बुधबार र बिहीबार पक्राउ गरिएको छ।

प्रहरीले जानकारी अनुसार उनीहरूले नेपालगन्ज–कोहलपुर सडक खण्डमा रहेको जानकी गाउँपालिका–६ स्थित एक खाजा पसल अगाडि भारतीय नम्बर प्लेटको गाडीमा ५ लाख रुपैयाँ असुलेका थिए। व्यवसायीका अनुसार उनीहरूले लागूऔषधको मुद्दामा फसाइदिने धम्की दिएपछि सापटी लिएर पैसा बुझाइएको हो।

खान र बर्मा दुवै लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्रप्रसाद भट्टको निर्देशनमा बाँके र बर्दियामा खटिएका घुमुवा प्रहरी हुन्। चौधरी भने सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका घुमुवा जवान हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि म्याद थप गरिएको छ भने घटनामा अन्यको संलग्नता देखिएमा थप पक्राउ गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया