विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ: अहमदाबाद प्रहरी


काठमाडाैं- भारतको अहमदाबादमा बिहीबार दिउँसो एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेको छ। सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गरेको केही मिनेटमै लण्डन ग्याट्विकका लागि उडेको विमान अस्पतालका चिकित्सकहरूको आवासीय क्षेत्रमा ठोक्किएको थियो।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार दुर्घटनामा सवार २४२ जना यात्रु र चालक दलका सदस्य सबैको ज्यान गएको पुष्टि भएको छ। “विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ,” उनले समाचार संस्था एपीलाई बताएका छन्।

विमान अस्पतालका डाक्टरहरूको आवासीय भवनमा ठोक्किएको र ठोक्किएपछि ठूलो आगो लागेको थियो। यस कारण १५ जना डाक्टर घाइते भएका छन् भने केही स्थानीयले पनि ज्यान गुमाएको हुनसक्ने आशंका छ।

प्रहरीका अनुसार दुर्घटनामा मारिएकाहरूको संख्या निश्चित गर्न खोजीकार्य जारी छ। दुर्घटनामा परेका यात्रुहरूमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए।

एयर इन्डियाले यात्रुका आफन्तलाई जानकारी दिनको लागि हटलाइन नम्बर समेत जारी गरेको छ भने भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह घटनास्थलमा पुग्ने तयारीमा छन्।

प्रतिक्रिया