क्यासिनोले बक्यौता नबुझाएपछि पाँच तारे होटलको साख गुमाउँदै र्‍याडिसन र याक एण्ड यती


काठमाडौं- तारे होटेल अर्थात् स्टार होटल खोल्ने विषय शान र लगानीका हिसाबले आकर्षक मानिन्छ । सुविधा सम्पन्नका हिसाबले एकदमै आकर्षक मानिएका आलिशान स्टार होटेलमा बस्न निकै खर्च हुने गर्छ ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः तारे होटेल त्यसमा पनि पाँच तारे होटलमा हुने गरेको छ । नेपालीहरूको खर्च गर्ने क्षमता बढेसँगै पछिल्लो समय विभिन्न कार्यक्रम, सभा/सम्मेलन तथा गोष्ठीहरु गर्न तारे होटल नै रोज्ने गरेको पाइन्छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता होटलहरू पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएका छन् ।

हाल नेपालमा २ वटा पाँच तारे डिलक्स र १७ वटा पाँच तारे होटल रहेका छन् । मेचीनगर–०८, धुलाबारी, झापामा रहेको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि (होटल मेची काउन) पहिलेदेखि नै पाँच तारे डिलक्सको सूचीमा रहेको थियो भने हालै
पर्यटन विभागले सोल्टी होटल लिमिटेड काठमाडौं, काठमाडौँ–१३, ताहाचललाई पनि पाँच तारे डिलक्सको सूचीमा समावेश गरेको छ ।

यी पाँच तारे होटलहरुले क्यासिनो पनि सञ्चालन गरेको पाइन्छ । विदेशी पर्यटकलाई आकर्षित गर्न तथा होटेलको शानका लागि पनि क्यासिनो सञ्चालन गरिन्छ । सामान्यतया पाँचतारे होटल वा सो सरहका डिलक्स रिसोर्टमा ठूला क्यासिनो चलाउन पाइन्छ । विभागकाट चारतारे होटलमा साना (मिनी) क्यासिनो चलाउने अनुमति दिइन्छ । अन्य तारे होटलले भने क्यासिनो सञ्चालन गर्न पाउँदैनन् ।

गत आर्थिक वर्षपछि नेपालमा ठूला र मिनी गरी क्यासिनोको संख्या २१ वटा पुगेको छ । ठूला ८ र मिनी क्यासिनो १३ वटा नबीकरण भएका छन् ।

पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भुजेलका अनुसार २०८१/०८२ का लागि ती २१ क्यासिनो नविकरण भएका छन् । ती २१ वटा क्यासिनोबाट सरकारले १ अर्ब ३३ करोड ७५ लाख ९२ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै दुई वटा मिनी क्यासिनोको नवीकरण नहुने निर्णय गरिएको र दुई वटा ठुलो क्यासिनोको इजाजत खारेज गरिएको उनले जानकारी दिए। नवीकरण नहुने निर्णय गरिएका मिनी क्यासिनोमध्ये विराटनगरमा रहेको रत्न सर्भिसेज र सिमरामा रहेको स्माइल कलेक्सन रहेको उनले बताए । त्यस्तै इजाजतपत्र खारेजीमा परेकामा अन्नपूर्ण र साङ्ग्रिला होटलमा सञ्चालनमा रहेका ठुला क्यासिनो रहेका छन् ।

नर्वीकरण भएका ठूला क्यासिनोहरुः
१) बेल्लिज नेपाल प्रालि (मल्ल होटल परिसर), लैनचौर
२) प्राइड इन्टरटेन्मेन्ट प्रालि (होटल हायात परिसर), बौद्ध
३) डेल्टइन नेपाल प्रालि (होटल म्यारिट परिसर), नक्साल
४) माजोङ्ग इन्टरटेन्मेन्ट प्रालि (सोल्टी होटल परिसर), कालीमाटी
५) इम्पेरियल इन्टरटेन्मेन्ट प्रालि (सोल्टी शिवक्रिम होटल), नेपालगन्ज
६) वाल्डो डाइनेष्टी इन्टरटेन्मेन्ट प्रालि (होटल अलफ्ट परिसर), काठमाडौं
७) किड्सवेरी इन्टरटेन्मेन्ट प्रालि (होटल मिल्सवरी परिसर), झापा
८) भेगस रिक्रियसन प्रालि (होटल मेची क्राउन), झापा

मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल)
१) ज्याकपोट गेमिङ्ग सेन्टर प्रालि (होटल सिद्दार्थ), नेपालगन्ज
२) निर्भाणा लक्जरी इन्टरटेन्मेन्ट प्रालि(होटल निर्भाना), भैरहवा
३) वेल्लिज इन्टरटेन्मेन्ट प्रालि (होटल स्नेहा), नेपालगन्ज
४) भेन्यु रिक्रियसन प्रालि (होटल स्टारलाइट), परिसर
५) सिद्दार्थ गेमिङ्ग जोन प्रालि (होटल नान्स), परिसर
६) ओम त्रयम्बकम इन्टरटेन्मेन्ट प्रालि (कल्पतरु होटल), नेपालगन्ज
७) सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी प्रालि (होटल सिटी प्यालेस), नेपालगन्ज
८) गोल्डेन फिँंगर गेमिङ्ग जोन प्रालि(हिमाल वाटर पार्क एण्ड भिलेज), पर्सा
९) च्याम्पियन जोन प्रालि (विग होटल), विराटनगर
१०) अपूर्व गेमिङ्ग जोन प्रालि (मौर्य होटल), भैरहवा
११) दियालो गेमिङ्ग जोन प्रालि (दियालो होटल), वीरगन्ज
१२) ताज इन्टरटेन्मेन्ट प्रालि (होटल माउण्ट कैलाश), पोखरा
१३) इलिगेन्ट इन्टरटेन्मेन्ट प्रालि (एसियन बुद्व होटल), भैरहवा

यी मध्ये केही वर्षपहिलेसम्म लाजिम्पाटमा रहेको  होटल र्‍याडिसनमा क्यासिनो प्याट र याक एण्ड यती होटलमा रोयल क्यासिनो सञ्चालनमा रहेका थिए । तर, रोयल्टी नबुझाउँदा दुइवटै क्यासिनो बन्द भएका थिए ।

त्यसरी क्यासिनो बन्द हुँदा यी दुई पाँच तारे होटलको शाख गुम्दै गएको पर्यटक व्यवसायीहरु बताउँछन् । ‘बाहिर देशबाट आएका पर्यटकहरुलाई क्यासिनोमा गएर मनोरञ्जन लिने शौख हुन्छ । तर, पाँच तारे भनिएका होटलमा क्यासिनो नहुँदा पर्यटकलाई खल्लो महसुस भइरहेको छ’ भारतबाट आएका एक पर्यटकले भने ।

क्यासिनो नियमावली, २०७० मा क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने आर्थिक ऐन २०७८ को दफा १६ मा ६ महिनाभित्र रोयल्टी बुझाउनुपर्ने, समयमा नबुझाएमा थप शुल्क र वार्षिक थप शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।

ती होटलले क्यासिनाको रोयल्टी नबुझाउँदा होटल नवीकरणमा बाधा पुगिरहेको पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भुजेलले बताए । ती दुई होटलमा भएका क्यासिनोको बक्यौता नतिर्दाे होटल नै नवीकरण नभएको उनले बताए । नवीकरण नै नहुँदा दुइवटै होटललाई पाँच तारे होटलको सूचीमा समावेश नगरिएको उनको भनाई छ ।

तीन वर्षअघि (२०७८ माघ २६ मा) होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल याक एण्ड यती र क्यासिनो बन्द गर्न निर्देशन दिएको थियो । तर, पछि सर्वोच्च अदालतले याक एण्ड यति होटलको विवादमा सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यस्तै होटल र्‍याडिसनको क्यासिनोको रोयल्टीवापतको ४० करोड २७ लाख ५० हजार रुपियाँ बक्यौता तिर्न बाँकी रहेको छ ।हाल दुवै हाेटल नवीकरणबिना नै सञ्चालन हुँदै आएका छन् ।

 

प्रतिक्रिया