काठमाडौंबाट ‘रेफर’ भए जुवाडे, नेपालगञ्ज माजोङमा नेपालीको भिड


काठमाडौं- काठमाडौंमा रसियन यौन व्यवसायीहरुको ‘धन्दा’समेत चलाइरहेको सोल्टी होटलमा रहेको क्यासिनो माजोङले नेपालगञ्जमा रहेको अर्को क्यासिनोमा पनि नेपालीलाई प्रवेश गराउने गरेको पाइएको छ । नियमन गर्ने निकाय र प्रहरी प्रशासनसँग सेटिङ गरेर जुवाडेको भीड लगाउने माजोङले बाँकेको नेपालञ्जमा पनि नेपालीहरुको उठ्ठीबास गराइरहेको व्यापक जनगुनासो आएको हो ।

काठमाडौंमा रहेको क्यासिनो माजोङबारे कागजपत्रले निरन्तर रुपमा सामाचार प्रकाशन गरेपछि अहिले त्यहाँ नेपाली प्रवेशमा कमी गरिएको छ । तर, उसले अर्कै तरिका अपनाएर नेपालीहरुको पैसा असुल्ने बाटो अपनाएको छ ।

माजोङले आफ्नो क्यासिनोमा नियमित आउने नेपाली जुवाडेलाई नेपालगञ्ज पठाउने गरेको स्रोतले बताएको छ । त्यसका लागि जुवाडेहरुलाई माजोङले नेपालगञ्जको सोल्टी होटलमा कोठा बुक गर्ने र आउजाउ गर्न हवाई टिकटसमेत उपलब्ध गराउने गरेको स्रोतको दाबी छ ।

नेपालगञ्जको क्यासिनो माजोङमा विशेषगरी सुदूरपश्चिम र लुम्बीनी प्रदेशका जुवाडे जाने गरेको बताइएको छ । भारतीय ग्राहकलाई लक्षित गरी खोलिएको क्यासिनोमा नेपाली जुवाडेहरुको भीड लाग्ने गरेको बताइएको छ ।

त्यहाँ दिनको १५ देखि २० नेपाली प्रवेश गराएर क्यासिनोले जुवा खेलाइरहेको बताइन्छ । माजोङमा सुदूपश्चिमकोे कैलालीस्थित धनगढी, अत्तरिया, लम्की, बौनिया, लुम्बनीको कोहलपुर र कर्णालीको सुर्खेतका नेपालीहरुको बढी भिड लाग्ने गरेको स्रोतले जानकारी दिएको छ । प्रहरीसँग राम्रै सेटिङ भएका कारण क्यासिनोमा निर्वाध रुपमा नेपालीहरुले प्रवेश पाउने स्रोत बताउँछ ।

सेटिङ मिलाइने भएका कारण पछिल्लो समयमा क्यासिनो माजोङमा विदेशी पर्यटकभन्दा नेपाली जुवाडे भरिने गरेको स्रोतको दाबी छ । नक्कली परिचयपत्र बनाएर नेपालीलाई नै प्रवेश दिएर क्यासिनोले अकुत सम्पत्ति आर्जन गरिरहेको स्रोत बताउँछ ।

स्रोतले पछिल्लो ढेड महिनायता लम्कीका एक व्यक्ति उक्त क्यासिनोमा १२ करोड हारेको बताएको छ । यस्तै धनगढीका एक जुवाडेले ७ करोड र अत्तयरियाका अर्का जुवाडे सो क्यासिनोमा ३ करोड हारेको बताइएको छ ।

त्यसरी उठ्ठीबास हुने अवस्था आएपछि पीडित परिवारले कागजपत्रलाई गुनासो राख्दै पत्र लेखेका छन् । उनीहरुले क्यासिनो नियमन गर्ने निकाय अन्तर्गतको गृह मन्त्रालयमा कञ्चनपुरका रमेश लेखक र पर्यटन मन्त्रालयमा बाजुराका बद्री पाण्डे मन्त्री भएकाले आवश्यक कारबाही अगाडि बढाउन माग गरेका छन् ।

नेपालीहरुले क्यासिनोमा दैनिक करोडौं हार्दा दर्जनौं परिवारको विचल्ली भएर सडकमा आउने अवस्थासमेत आएको पीडित परिवारले बताएका छन् । क्यासिनोले मिटरब्याजीलाई क्यासिनोमै राखेर पैसा लगानी गर्ने अवसर दिने भएका कारण जुवाडेहरु एकैरातमा लाखौं हार्ने गरेका छन् ।

शक्तिकेन्द्रका निकट रहेका तथा राम्रै राजनीतिक पहुँच बनाएका क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठले त्यताको जिम्मेवारी महाप्रवन्धक निरज प्रधानलाई दिएका छन् । भने, माजोङको नायव महाप्रवन्धकको जिम्मेवारी (पिट प्रमुख) विश्व अधिकारीले सम्हालेका छन् । यस्तै क्यासिनोको बजार व्यवस्थापन अमित अधिकारी र सुरेन्द्र राठोरले हेर्ने गरेका छन् ।

माजोङका सञ्चालक श्रेष्ठ यस्तै बदमासीका कारण पहिले पक्राउ परिसकेका व्यक्ति हुन् । २०७४ सालमा नेपाली प्रवेश गरेको पाइएपछि प्रहरीले छापा मारी १९ जना नेपालीलाई पक्राउ गरेको थियो । तर, उनी पछि छुटेका थिए ।

त्यसो त नेपालगञ्जमा रहेका अन्य क्यासिनोहरुमा पनि नेपालीहरु सजिलै प्रवेश पाइरहेका छन् । तर आफ्ना नियमित खेलाडीहरुलाई काठमाडौंबाटै पठाउने धन्दा भने माजोङले मात्रै चलाइरहेको छ ।

पीडित परिवारका अनुसार हाल एसएसपी रहेका तत्कालीन बाँकेका एसपी श्याककृष्ण अधिकारी हुँदा नेपालगञ्जका क्यासिनोमा नेपालीहरुको प्रवेश सुरु भएको थियो । त्योबेला उनले तत्कालीन मन्त्रीहरुलाईसमेत प्रभावमा पारेर क्यासिनोबाट महिनावारी असुली गर्ने गरेको स्थानीय बताउँछन् ।

त्यसयता क्यासिनोभित्र हुने गरेका आपराधिक क्रियाकलाप प्रहरीकै आडमा सामसुम गरिने पीडित परिवार बताउँछन् । प्रहरीले निर्वाध रुपमा क्यासिनोलाई ‘मालअड्डा’ को रुपमा संरक्षण गरिरहेको पीडित परिवार बताउँछन् ।

यो पनि :

 

प्रतिक्रिया