पूर्वडिआईजीको क्यासिनोमा नेपालीको भिड, बुढानिलकण्ठका ‘दारी’ ले हारे १० करोड !


बारा – क्यासिनोमा अवैध रुपमा नेपालीहरु प्रवेश गराइरहेको भन्ने समाचार आइरहेका बेला बाराको सिमरास्थित इच्छा होटलको ह्याप्पी आवर क्यासिनोमा पनि नेपाली जुवाडे प्रवेश गरेको पुष्टी भएको छ ।

पछिल्लो समय अनलाइनन्यूज७ मा विभिन्न मितिमा नेपालका क्यासिनोहरुमा अवैध रुपमा नेपालीहरु प्रवेश गराईएको भन्दै समाचार प्रकाशन हुँदै आएपछि प्रहरीले क्यासिनोमा छापा मारेको थियो । प्रहरीले नेपालगञ्ज र राजधानीका केही क्यासिनोमा छापा मारी ग्राहकका रूपमा क्यासिनो प्रवेश गरेका नेपालीहरु पक्राउ गरेको थियो ।

यसै क्रममा बाराको सिमरास्थित इच्छा होटलमा सञ्चालित क्यासिनो ह्याप्पी आवरमा पछिल्लो समय नेपाली जुवाडेहरुको भिड लाग्ने गरेको छ । नेपाली ग्राहकहरुलाई भारतीय नक्कली परिचय पत्र बनाईदिइ क्यासिनो प्रवेश गराउनका लागि गिरोह नै लागि परेको जनाइएको छ ।

पछिल्लो समयमा उक्त क्यासिनोका मुख्य ग्राहकका रुपमा काठमाडौंका सुरेश थापा रहेको स्रोतको दाबी छ । बुढानिलकण्ठ नगरपालिका भंगालका स्थायी बासिन्दा दारी उर्फ सुरेश थापा अहिले उक्त क्यासिनाका नियमित ग्राहकका साथै क्यासिनोमा नेपाली प्रवेश गराउने एजेन्टका रुपमा रहेको स्रोतको दाबी छ । उनले केही साताकै अवधिमा उक्त क्यासिनोमा १० करोडभन्दा बढी रकम हारेको पनि स्रोतले दाबी गरेको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीको लगानी रहेको उक्त क्यासिनो प्रवेशमा कतिपयले प्रहरीको हवाला समेत दिने गरेको जनाइएको छ । पूर्वडिआईजीकै क्यासिनो भएको हुनाले कतिपयले प्रहरीबाट बच्न सकिने भन्दै उक्त क्यासिनो प्रवेश गर्ने गरेको स्रोतले जनाएको छ । र, क्यासिनो प्रवेश गराउनका लागि ‘दारी’ले एजेन्टको भूमिका निर्वाह गर्ने गरेको जनाइएको छ ।

नेपाल प्रहरीले राजधानीलगायतका ठूला सहरका क्यासिनोमा निगरानी बढाएपछि जुवाडेहरु साना तथा मध्यम सहररुमा केन्द्रीत रहेको अनुमान लगाउन सकिन्छ ।

यसअघि नेपाल प्रहरीले राजधानीको म्यारियट होटलमा सञ्चालित डेल्टिन क्यासिनो र दरबारमार्गस्थित थाइ कम्प्लेक्समा रहेको एलप क्यासिनोबाट गरी ८ नेपाली पक्राउ गरेको थियो ।

त्यस्तै नेपालगञ्जका क्यासिनोमा छापा मार्दै १३ जना नेपालीलाई पक्राउ गरेको थियो । धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट लगातार दुई दिन छापा मार्दा पहिलो दिन ७ र दोस्रो दिन ६ जना नेपाली पक्राउ परेका थिए ।

र, यो पनि…

क्यासिनोमा कडाईः उपत्यकाका ६ क्यासिनोमा प्रहरीले मार्यो छापा, ८ नेपाली पक्राउ

नक्कली भारतीय आधारकार्ड बनाई नेपालीलाई प्रवेश गराउँदै राजधानीका क्यासिनो

 

प्रतिक्रिया