क्यासिनो माजोङमा नेपाली डुब्दै, प्रहरीको छापा नाटकै


काठमाडौं– गैरकानुनी रुपमा नेपाली प्रवेशको विषयमा समाचार प्रकाशन भएपछि काठमाडौंको कालिमाटीस्थित सोल्टि होटलमा रहेको क्यासिनो माजोङमा प्रहरीले छापा मारेको छ । तर जुवा खेलीरहेका नेपालीलाई बाहिर भगाएर प्रहरीले छापा मारेपछि क्यासिनो व्यवस्थापनसित प्रहरीको मिलेमतो देखिन्छ ।

कागजपत्रले मंगलबार (हिजो) ‘क्यासिनो माजोङमा नेपाली जुवाडेको प्रवेश, मन्त्री नै खेलाडी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि प्रहरी वृत्त कालिमाटिका डीएसपी रुपक खड्काको टोली क्यासिनो माजोङमा पुगेको थियो ।

तर त्यसअघि प्रहरीकै योजनामा त्यहाँ रहेका नेपालीलाई भगाइसकिएको प्रमाण कागजपत्रले फेला पारेको छ । प्रहरी र क्यासिनो व्यवस्थापनको मिलेमतो माथिसम्मै हो वा स्थानीय प्रहरीसम्म मात्रै हो यसको पुष्टि हुन बाँकी छ ।

छापा मार्नुअघि आठ नेपाली थिए क्यासिनोमा

मंगलबार कागजपत्रमा समाचार प्रकाशित हुनुअघि आठजना नेपाली क्यासिनो माजोङमा जुवा खेलिरहेका थिए ।

हामीले मंगलबार अपरान्ह ४ : ३९ बजे ‘क्यासिनो माजोङमा नेपाली जुवाडेको प्रवेश, मन्त्री नै खेलाडी’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौं ।

समाचार प्रकाशन गर्नुअघि क्यासिनोको आधिकारिक धारणा बुझ्न दिउँसो ३ : ४९ बजे क्यासिनोका महाप्रबन्धक अमुल्य राणालाई टेलिफोन सम्पर्क गरेका थियौं ।

हाम्रो फोन लगत्तै राणाले क्यासिनोका पिट इन्चार्ज (सबै टेबुल हेर्ने प्रमुख) सिताराम बानियाँलाई फोन गरेको स्रोतको दाबी छ ।

राणाको फोनपछि बानियाँले क्यामरामा समस्या आएको भन्दै खेल रोक्न लगाएका थिए ।

खेल रोकेपछि नेपालीसहित त्यहाँ रहेका सबै खेलाडीलाई क्यासिनोकै रेष्टुरेन्टमा राखियो । सोही क्रममा बानियाँले नेपालीहरुलाई भाग्ने बाटोबारे ब्रिफिङ समेत गरे । खेल रोकिएकै बेला नेपाली खेलिरहेको सिसिटिभी फुटेज मेटाइएको आशंका छ ।

स्रोतले भन्यो,‘ अनि सबैलाई रेष्टरेन्टमा लगियो । पछि अर्को कोठामा लगेर भाग्ने चौथो बाटो देखाइयो । क्यासिनोको चौथो ढोकाबाट खेतबारी हुँदै होटल हायात प्यालेस क्षेत्रबाट नेपालीलाई बाहिर निकालियो ।’

साँझ ६ : १५ बजेसम्म नेपाली क्यासिनो मोजाङबाट बाहिर निस्कीसकेका थिए ।

अनि भयो डीएसपी खड्काको प्रवेश

नेपाली भगाइसकेपछि प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपक खड्का क्यासिनोमा छापा मार्न पुगे । उनी माजोङ पुग्दा साँझको ७ बजेको थियो । स्रोतका अनुसार यसबीचमा माजोङका सुरक्षा इञ्चार्ज भोजराज तिमिल्सीना र डीएसपी खड्काबीच फोनमा कुरा भएको थियो ।

उनीहरुकै योजनाअनुसार नेपाली भगाएर प्रहरीले छापा मारेको नाटक गरेको थियोे । क्यासिनोबाट डीएसपी खड्का ७ :३० मा बाहिर निस्कीएका थिए ।

मंगलबार दिउँसो देखिको क्यासिनोभित्रको र क्यासिनो पछाडी रहेको खेतवारीपट्टीको सिसिटीभी फुटेजको अनुसन्धान गरे नेपाली प्रवेश गरे नगरेको पुष्टि हुन्छ ।

मेरो संलग्नता छैन : डीएसपी खड्का

प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपक खड्काले प्रहरीको सेटिङमा भगाइएको आरोप अस्वीकार गरे ।

आफुमाथि लागेको आरोपबारे छानबिन गर्न समेत डीएसपी खड्काले आग्रह गरे ।

उनले भने,‘मेरो टोली माजोङ पुगेकै हो । त्यहाँ नेपाली कोही थिएनन् । तर सिसिटिभी फुजेट मैले हेरिन । मेरो कुनै आर्थिक लेनदेन छैन् । अनुसन्धान गरे हुन्छ ।’

परिसरको टोली पनि पुग्यो सबै क्यासिनोमा

यसैबीच मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजधानीका सबै क्यासिनोमा छापा मारेको छ । सादा पोशाकको प्रहरी टोलीले माजोङसहित सबै क्यासिनोमा छापा मारेको हो ।

परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डीएसपीको कमाण्डमा सबै क्यासिनोमा छापा मारिएको हो ।

तर छापाका क्रममा कुनै पनि क्यासिनोमा नेपालीको प्रवेश नदेखिएको एसपी अधिकारीले बताए ।

विष्णु पन्थीको खातामा नेपालीले गर्छन् डिपोजिट

क्यासिनो माजोङको बजार प्रवद्र्धन गर्नेमध्ये एक हुन विष्णुप्रसाद पन्थी । माजोङमा प्रवेश गर्ने नेपालीले विष्णुको प्रभु बैंकमा रहेको खातामा रकम डिपोजिट गर्ने गरेको प्रमाण कागजपत्रसँग सुरक्षित छ ।

उनको प्रभु बैंकको खाता नम्बर ००१०००१२२९४०००१२ मा क्यास डिपोजिट गरेपछि नेपालीहरु क्यासिनो प्रवेश गर्छन् । त्यहाँ पुगेर उनीहरुलाई डिपोजिट गरेको रकम बराबर क्वाइन उपलब्ध गराइन्छ ।

स्रोतका अनुसार पन्थीको खातामा दैनिक लाखौं रुपैयाँ जम्मा हुने गरेको छ । यसको निस्पक्ष छानबिन हुने हो भने को–को नेपाली क्यासिनो जान्छन् भन्ने प्रमाण खुल्छ ।

यतिमात्रै होइन,क्यासिनो प्रवेशअघि गेटमा नेपाली खेलाडीहरुका लागि मात्रै रकम जम्मा गरे नगरेको यकिन गर्न लगाइन्छ ।

कसले कति जम्मा गरेको भनेर खेलाडीहरुबाटै हस्ताक्षर गराइन्छ । मंगलबार मात्रै आठजना नेपालीको ३७ लाख रुपैयाँ डिपोजिट गरेको गेटमा राखिने रजिष्टरमा उल्लेख थियो ।

 

प्रतिक्रिया