सेटिङमा जुवा खेलाउँछ क्यासिनो माजोङ

नेपाली हराउन प्रहरी ‘प्रयोग’ !


काठमाडौं – होटल सोल्टीमा रहेको क्यासिनो माजोङले सेटिङमा जुवा खेलाउने गरेको छ । यसरी जुवा खेलाउँदा व्यवस्थापन समूहले पटक–पटक नेपाल प्रहरीको पनि ‘सहयोग’ लिने गरेको खुलेको छ ।

क्यासिनोमा धेरै खेलिने जुवामध्ये एउटा हो–‘बकरानाइन’ । ६ देखि ८ गड्डीसम्म तासको प्रयोग हुने यस खेलमा एकपटक सुरु भएपछि करिब ४५ खेल खेल्न मिल्छ । सामान्यतयाः खेल चलिरहँदा तास साटफेर गर्न मिल्दैन, तर माजोङमा क्यासिनो जित्दा खेलमा गडबडी हुने गरेको छ ।

गैरकानुनी रुपमा धेरै नेपाली प्रवेश गराउने माजोङमा नेपालीले जित्दा केही समस्या देखिँदैन, तर क्यासिनोले जित्ने बेला सेटिङका साथै विभिन्न प्राविधिक समस्याहरु आउने गरेको छ ।

क्यासिनो खेल्ने एक नेपालीका अनुसार ‘नेपाली जित्दा जुवाको नियमविपरित प्राविधिक समस्या देखिएको भन्दै पटक–पटक कार्ड परिवर्तन गराएर जानी–जानी नेपालीलाई हराउने गरिन्छ, यो माजोङकै रणनीति हो,’ ती खेलाडीले भने ।

त्यतिमात्र होइन, नेपाली जुवाडेले जुवा हारेको अवस्थामा सेटिङ गरी प्रहरी समेत बोलाउने गरिएको छ । पिट म्यानेजर सन्तोष श्रेष्ठ, सिताराम बानियाँ र कम्पनी कोर्डिनेटर रेविका गुरुङलगायतले नेपाली जुवाडे हारेको अवस्थामा क्यासिनोकै सुरक्षागार्डलाई प्रयोग गरेर नेपाल प्रहरीलाई बोलाउने गरेका छन् । यसरी प्रहरी बोलाउँदा बढीजसो सिआरभीको प्रयोग गरिएको छ । सिआरभीका साथै कहिलेकाहिँ कालीमाटी वृत्तबाट समेत प्रहरी बोलाउने गरिन्छ ।

आँफैंहरुले प्रहरीलाई खबर गरेर बोलाउने अनि प्रहरी क्यासिनो परिसरमा प्रवेश गर्नासाथ प्रहरी आएको सूचना जुवाडेहरुलाई दिएर भगाउने गरिएको छ ।

क्यासिनोले नै बोलाएका प्रहरीहरु भने क्यासिनोको जुवा खेल्ने क्षेत्रसम्म पनि नपुगि ट्राभल डेस्कसँगै कोठामा व्यवस्था गरिने ‘खाजापान’पछि फर्कने गरेका छन् । गैरकानुनी रुपमा नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाईरहेको माजोङ व्यवस्थापनले प्रहरीलाई पनि प्रयोग गरिरहेको छ । ‘यो प्रकरणमा प्रहरीको पनि प्रत्यक्ष संलग्नता देखिएको छ,’ ती खेलाडीले भने ।

प्रतिक्रिया