क्यासिनोमा कडाईः उपत्यकाका ६ क्यासिनोमा प्रहरीले मार्यो छापा, ८ नेपाली पक्राउ


काठमाडौं – अनलाइनन्यूज७ले लगातार नेपालका क्यासिनोहरुमा नेपाली प्रवेशको समाचार प्रकाशन गरेसँगै देशभरका क्यासिनोमा प्रहरीले निगरानी तथा कारबाही अगाडि बढाएको छ ।

केहीदिन अघि अनलाइनन्यूज ७ ले नक्कली भारतीय आधारकार्ड बनाई नेपालीलाई प्रवेश गराउँदै राजधानीका क्यासिनो शीर्षकमा समाचार प्रकाशन गरेपछि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका ६ क्यासिनोमा छापा मारेको छ ।

उक्त समाचारलाई तथ्यगत रुपमा पुष्टी गर्दै उपत्यकाका उक्त क्यासिनोहरुबाट ८ नेपाली पक्राउ समेत परेका छन् । उपत्यका अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त कुँवरका अनुसार पक्राउ परेकाहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेका नेपालीसँगै क्यासिनो प्रवेश गराउने क्यासिनोका म्यानेजरमाथि समेत मुद्दा लगाउने तयारी प्रहरीले गरेको कुँवरले बताए ।

प्रहरीका अनुसार नक्सालस्थित होटल म्यारियटमा सञ्चालित डेल्टिन क्यासिनोबाट तीन जना पक्राउ परेका छन् । त्यस्तै दरबारमार्गस्थित थाइ कम्प्लेक्समा रहेको एलप क्यासिनोबाट पनि नेपालीहरु पक्राउ परेका छन् ।

यसअघि प्रहरीले उपत्यकाबाहिरको नेपालगञ्जका क्यासिनोमा छापा मार्दै १३ जना नेपालीलाई पक्राउ गरेको थियो । धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट लगातार दुई दिन छापा मार्दा पहिलो दिन ७ र दोस्रो दिन ६ जना नेपाली पक्राउ परेका थिए ।

 

प्रतिक्रिया