राजधानीका क्यासिनोमा नेपाली जुवाडेको भीड


काठमाडौं नियगमन गर्ने निकाय र प्रहरी प्रशासनको कमजोर कमाण्डका कारण राजधानीलगायत देशका अधिकांश क्यासिनो र मिनी क्यासिनोमा नेपाली जुवाडेको भीड लाग्न थालेको छ । राजधानीमा सञ्चालित होटल सोल्टीमा अवस्थित क्यासिनो माजोङ, होटल मेरियटमा सञ्चालित क्यासिनो डेल्टिन र ठमेलस्थित छाँया सेन्टरमा अवस्थित अलफ्टमा रहेको वाल्डो डाइनेस्टीको क्यासिनोमा नेपाली जुवाडेलाई निर्वाध प्रवेश गराईएको छ ।

निर्वतमान प्रहरी महानिरक्षक शैलेश थापा क्षेत्रीको कमजोर कमाण्डका कारण उपत्यकमा जुवालगायत अवैध धन्दा फस्टाएको हो । प्रहरी चेन अफ कमाण्डमा भन्दा राजनीतिक दलको ईसारामा चल्न थालेपछि अपराधको जालो झाँगिएको हो । जुवा, अवैध मिटर व्याज, सहकारीको ठगी पछिल्लो समय संगठीत रुपमै मौलाएको प्रहरीका एक अधिकृत बताउँछन् । पाँच बर्ष अगाडी क्यासिनोमा नेपाली प्रवेश र जुवामा क्यासिनोभित्र अबैध लगानी गर्ने माथि प्रहरीले विशेष अप्रेशन चलाएपछि भागभाग मच्चिएको थियो । तर, तत्कालीन आईजीपी सर्वेन्द्र खनालको बहिर्गमन र ठाकुर ज्ञवालीको आगमनसँगै यस्ता अपराध मौलाउन थालेको हो । जुन अपराध निवर्तमान आईजी शैलेश थापाको पालामा झन् मौलायो ।

थापाको २२ महिने कार्यकालमा नेपाल प्रहरीका अधिकांश सदस्यले अभिभावकविहीन महशुस गरेको तीतो यथार्थ अहिले बताउन थालेका छन् । प्रहरीमा राजनीतिक दल हाबी भएकै कारण अपराध मौलाएको उनीहरुको बुझाई रहेको छ । जसको एक उदाहरण पछिल्लो समय क्यासिनोमा नेपाली जुवाडे र मिटरब्याजमा लगानी गर्ने गिरोहको मनोबल बढेको इमान्दार प्रहरीको ठहर छ ।

यस्ता क्यासिनोमा मिटरब्याजीमा लगानी गर्ने गिरोहलाई प्रहरीकै संरक्षण रहेको छ । ती गिरोहले प्रहरीकै पैसा मिटरब्याजमा लगाई दिने हुनाले तिनीहरुको संरक्षण गर्दै आएको काठमाडौं परिसरका एक अधिकृतले बताए । राजधानीलगायत बाहिरका अधिकांश क्यासिनोले प्रहरीलाई राम्रै नजराना बुझाएर नेपालीको प्रवेशलाई सहज बनाई दिएको छ । स्रोतका अनुसार आईजीपी सचिवालयले यस्ता क्यासिनोबाट पैसा असुलेर नेपाली प्रवेश गर्न दिने प्रहरी र जुवाडेलाई मिटरब्याजमा पैसा लगानी गर्ने गिरोहको लिस्ट तयार पार्दैछ ।

प्रतिक्रिया