सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]


कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। शुक्रबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रस्तुत नीति तथा कार्यक्रममा प्रादेशिक विकासलाई प्राथमिकता दिइएको छ। प्रदेश सरकारले १०० वटा उच्च प्रतिफल दिने आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्ने जनाएको छ। साथै, प्रदेश गौरवका आयोजना र बहुवर्षीय योजनालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

बेरोजगारी र गरिबी घटाउन उद्यमशीलता विकासमा जोड दिइएको छ। नयाँ सोच भएका तर लगानीको अभावमा रोकिएका उद्यमीलाई स्टार्टअप कार्यक्रमअन्तर्गत सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनेछ। श्रमिक माग र आपूर्तिको अध्ययन गर्दै रोजगार पोर्टल सञ्चालन गरिने र मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम लागु गरिने योजना पनि समेटिएको छ।

नीति तथा कार्यक्रममा सामाजिक क्षेत्रमा पनि विशेष कार्यक्रम समावेश गरिएको छ। बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन, टीकापुर (कैलाली) मा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, प्रत्येक जिल्लामा नमुना क्याम्पस सञ्चालन, एक जिल्ला एक क्रिकेट मैदान निर्माण, खेलकुद नीतिको निर्माण, खेल विद्यालय सञ्चालन तथा उत्कृष्ट खेलाडीलाई प्रोत्साहनको कार्यक्रम समावेश गरिएको छ।

त्यस्तै, प्रदेशसभा सदस्यहरूको बीमा गरिनेछ भने राजधानीको पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया