क्यासिनो माजोङमा नेपाली जुवाडेको प्रवेश, मन्त्री नै खेलाडी


सन् १९६८ मा अधिराजकुमार हिमालय बिक्रम शाहले सोल्टीमा क्यासिनो नेपाल खोले । त्यो क्यासिनोमा विदेशी नागरिकका अतिरिक्त नेपालका धनाड्यहरुमात्रै जुवा खेल्न जान्थे ।

विस्तारै नेपाली नागरिक त्यो पनि युवापुस्तामा क्यासिनोको लत नै लाग्यो ।

क्यासिनोले नै कयौंको उठीबास भयोे । घरखेत बन्धकी हुँदै बेचियो । अनि सरकारले ऐन नै ल्याएर सन् १९८० देखि क्यासिनोमा नेपालीको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइयो ।

तर प्रतिबन्ध लगाएको ४४ वर्षपछि सम्म पनि गैरकानुनी रुपमा क्यासिनोमा नेपालीको प्रवेश गर्ने क्रम रोकिएको छैन् । अहिले पनि उही नियती छ ।

यो नियती नेपालीलाई भोगाउनमा नेपाली नागरिकहरुकै संलग्नता छ । तर नियमनकारी निकायमा बसेका अधिकारीहरुले आफ्नो खल्ती मोटो बनाए अरु जोसुकैलाई जे होस् ।

यसमा मुख्य भूमिका प्रहरी प्रशासनकै हो । प्रहरीको सहयोगबिना क्यासिनोमा नेपाली प्रवेश सम्भव छैन् । उनीहरुले सेटिङमै नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराइरहेका छन् । कागजपत्रले क्यासिनोहरुमा नेपाली प्रवेश गर्ने कार्यलाई दुरुत्साहीत गर्न श्रृङ्खलावद्ध रुपमा सामाग्री प्रकाशित गर्नेछ ।

राजधानी काठमाडौंमा मात्रै आधा दर्जन बढी क्यासिनो छन् । तीमध्ये पछिल्लो समयमा नेपाली नागरिकलाई गैरकानुनी रुपमा क्यासिनोमा प्रवेश गराउने कार्यमा अग्रणी भूमिका होटल सोल्टीमा रहेको क्यासिनो माजोङको छ ।

काठमाडौं- काठमाडौंको कालिमाटीस्थित सोल्टि होटलमा क्यासिनो माजोङ छ । त्यहाँ गैरकानुनी रुपमा दिनहुँ नेपाली नागरिकको प्रवेश हुने गरेको छ ।

माजोङ क्यासिनो निकट विशेष स्रोतका अनुसार त्यहाँ प्रहरी प्रशासनकै मिलेमतोमा क्यासिनो व्यवस्थापनले नेपालीलाई प्रवेश गराउँदै आएका छन् ।

क्यासिनोमा नेपाली नागरिकलाई पूर्णरुपमा प्रवेश निषेध छ । तर, खुलमखुल्ला रुपमा नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाएको भिडियो तथा तस्बिरहरु कागजपत्रले प्राप्त गरेको छ ।

नेपालीलाई प्रवेश गराए क्यासिनोको इजाजत नै रद्द हुने कानुनी व्यवस्था भएपनि कार्यान्वयन निकाय फितलो भएकाले नेपाली नागरिक दैनिक माजोङ प्रवेश गरिरहेका छन् ।

को हुन क्यासिनो माजोङका सञ्चालक ?

क्यासिनो माजोङ होटल सोल्टीमा छ । क्यासिनो माजोङका ३ जना सञ्चालक छन् । जसमा भारत सिक्किमका विकास चाम्लीङ र उर्गेन लद्दागी छन् भने नेपाली सञ्चालक विनोद श्रेष्ठ हुन् । उनीहरु तीनैजना भारतको दिल्ली विश्वविद्यायमा सँगै पढेका साथी हुन् ।

चाम्लीङ भारतको सिक्कीममा २५ वर्ष शासन गरेका पूर्व मुख्यमन्त्री पवन चाम्लीङका छोरा हुन् ।

माजोङमा मन्त्रीदेखि महिलासम्म नियमित खेलाडी

कागजपत्रलाई प्राप्त विवरणअनुसार दैनिक ३० देखि ३५ जना नेपाली खेलाडी क्यासिनो माजोङमा प्रवेश गर्छन् ।

क्यासिनो प्रवेश गर्ने भिआईपीमा निवर्तमान सहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता धनबहादुर बुढा छन् । उनी डोल्पाबाट निर्वाचित संघीय सांसद पनि हुन् ।

त्यसैगरि होटल भ्यू भृकृटीका मालिका राजु लामा, काठमाडौं टोखाका किरण कुवँर क्यासिनो प्रवेश गर्नेमा अग्रस्थानमै पर्छन् ।

क्यासिनो माजोङमै किरण कुवँरले एक अर्ब बढी रुपैयाँ हारेको उनीनिकट स्रोतले बताएको छ । हाल कुवँर चेक वाउन्समा फरार छन् ।

त्यसैगरि ३ जना महिला रानी अधिकारी, संगिता केसी र हेलन राणा पनि मोजाङका ग्राहक हुन् । यीमध्ये राणा बैंकर हुन् ।

नेपाली खेलाडीले क्यासिनो प्रवेशअघि त्यहाँका कर्मचारीहरुको नाममा गैरकानुनी रुपमा बैंकखातामा रकम जमा गर्ने गरेका छन् । जसको भौचर कागजपत्रले सार्वजनिक गरेको छ ।

प्रहरीदेखि गृहमन्त्रालयसम्मै सेटिङ

माजोङका सञ्चालकहरुले प्रहरीदेखि गृहमन्त्रालयसम्मै सेटिङ मिलाएको पाइएको छ । सेटिङ मिलाउने कार्यमा संलग्न एक कर्मचारीका अनुसार गृह मन्त्रालय,प्रहरी मुख्यालय, स्थानीय प्रहरीसम्मै मोटो रकमसँगै विभिन्न ब्रान्डका मदिरा पुर्याउने गरिएको छ ।

माजोङका सेक्युरेटी इञ्चार्ज भोजराज तिमिल्सीना हुन् भने नेपाली खेलाडीमाथि मिटरब्याजमा लगानी गर्ने विनोद घिमिरे छन् ।

उनले एक रातको १ लाख भारतीय रुपैयाँको १० हजार भारतीय रुपैयाँ मिटरब्याजको रुपमा कमिसन लिने गर्दछन् ।

नेपाली प्रवेशपछि लफडा नहोस् भन्नका लागि क्यासिनो माजोङका सञ्चालकले परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय, वृत्त कालिमाटी सम्मै सेटिङ गर्ने गरेका छन् ।

सेटिङ कार्य मिटरब्याजमा रकम लगानी गर्ने मुख्य लगानीकर्ता विनोद घिमिरे, सेक्युरेटी इञ्चार्ज तिमिल्सीना र सञ्चालक विनोद श्रेष्ठले गर्दै आएको स्रोतको दाबी छ ।

छापा छल्न ३ गोप्य ढोका

माजोङ प्रहरीकै सेटिङमा सञ्चालन हुने गर्छ । तर कहिलेकाही सेटिङ नगरिएका प्रहरी निकायबाट छापा हान्ने सम्भावना भएकाले क्यासिनोबाट नेपाली नागरिकलाई बाहिर निकाल्न ३ गोप्य ढोका बनाइएका छन् ।

एउटा ढोका क्यासिनोबाट डान्स क्लब हुँदै बाहिर निस्कीन्छ भने अर्को क्यासिनोको किचेनबाट निस्कीन्छ ।

त्यसैगरी तेस्रो ढोका क्यासिनोको बिचमै छ ।

माजोङको फाइनान्स कार्यालय दिल्लीमा

क्यासिनो माजोङ भारतको सिक्किममा पनि छ । त्यसै नामले सोल्टीमा पनि खुलेको हो । यसको मुख्य फाइनान्स कार्यालय भारतको नयाँ दिल्लीमा छ । भारतबाट आउने खेलाडीले सबै रकम दिल्लीमै जम्मा गर्छन् । उनीहरुलाई नेपाल पुगेपछि क्यासिनो माजोङले काठमाडौंमा क्वाइन उपलब्ध गराउँछ । हारेको पैसा यहि सकिन्छ भने जितेको रकम दिल्लीबाटै प्राप्त गर्छन् ।

नेपालीकै भारतीय आधारकार्ड

माजोङमा प्रवेश गर्ने नेपालीको भारतीय आधारकार्ड समेत क्यासिनोकै सेटिङमा बनाउने गरेको खुलेको छ । प्रहरीलाई छल्नका लागि उनीहरुले भारतीय आधारकार्ड सम्म बनाएर क्यासिनोमा प्रवेश गराउने गरेका छन् ।

अरु क्यासिनोहरुमा खेलाडीहरुलाई प्रवेश गराउन परिचय खुल्ने दुईवटा कार्ड माग्ने गरेको भएपनि माजोङले त्यो नियम लागु गर्दैन् ।

क्यासिनोभित्रै चिनियाँ र रसियन युवतीको यौनधन्दा

कागजपत्रलाई प्राप्त जानकारीअनुसार क्यासिनो माजोङभित्रै अवैध यौनधन्दा समेत सञ्चालन हुँदै आएको छ ।

क्यासिनो व्यवस्थापनले खेलाडीको मागअनुसार चिनियाँ र रसियन युवती उपलब्ध गराउदै आइरहेका छन् । यसरी युवती उपलब्ध गराइदिए वाफत एक पटकका लागि ५ हजार भारु लिने गरेका छन् ।

अबको टार्गेट भारतको उत्तराखण्ड

क्यासिनो माजोङले पछिल्लो पटक भारतको उत्तराखण्डलाई केन्द्रीत गरेर बजार प्रवद्र्धन गर्न थालेको छ । यसका लागि सिताराम बानियाँ र विष्णुप्रसाद पन्थीलाई बेलाबेलामा त्यहाँ पठाउने गरेको छ ।

स्रोतका अनुसार उनीहरुले आफुसँगै केही नेपाली युवतीहरुलाई समेत उत्तराखण्ड लैजाने गरेका छन् । ति युवतीहरुलाई त्यहाँ रहेका खेलाडीलाई प्रभावमा पार्न प्रयोग गर्ने गर्दछन् ।

प्रहरीको संलग्नता छैन : एसएसपी रजौरे

परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले प्रहरीमाथि लागेको आरोप अस्वीकार गरे ।

उनले क्यासिनोमाथि निगरानी बढाएको दाबी गरे ।

रजौरेले भने,‘कसैलाई संरक्षण गरिएको छैन् । मैले प्रहरीलाई यसबारे निर्देशन दिएको छु । कतैबाट आरोप आएजस्तो लाग्दैन् । हाम्रो मिलेमतो छैन् ।’

क्यासिनो माजोङले भने नेपाली नागरिकलाई प्रवेश बर्जित गरेको दाबी गरेको छ । क्यासिनोका महाप्रबन्धक अमुल्य राणाले भने,‘हामी परिचय पत्र भेरिफाई गरेर मात्रै प्रवेश दिन्छौं । नेपाली नागरिक कोही आएको भए प्रमाण दिनुस् ।’

नेपाली प्रवेश पाइए दर्ता खारेज हुन्छ : पर्यटन विभाग

पर्यटन विभागका निर्देशक तथा प्रवक्ता काली बहादुर भुजेलले क्यासिनोमा नेपाल प्रवेश गरेको पाइए लाइसेन्स नै खारेज हुने कानुनी व्यवस्था रहेको बताए ।

क्यासिनोको अनुगमन पर्यटन विभागले गर्ने गरेको उनको भनाई छ ।

निर्देशक भुजेलले भने,‘क्यासिनोले कम्तीमा ६ महिनाको सिसिटीभी फुटेज र प्रवेश गर्नेको विवरण राख्नुपर्छ । हामी त्यो हेर्छौ । त्यसमा नेपालीको प्रवेश पुष्टि भए दर्ता खारेजसम्म हुन्छ ।’

उनले गत आर्थिक वर्षमा ३ वटा क्यासिनोको दर्ता खारेज भएको पनि बताए ।

उनका अनुसार आर्थिक वर्ष ०८१-०८२ मा आठवटा ठुला र १३ वटा मिनि क्यासिनो नविकरण भएका छन् ।

यस बाहेक ३ वटा मिनि क्यासिनो अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा छन् । ३ क्यासिनोका १३ शाखा रहेको भुजेलले जानकारी दिए ।

प्रतिक्रिया