गर्मीसँगैको विपत्तिः योजनाबिहीन सरकार र जिम्मेवारीबोधबिहीन नागरिक


पृथ्वीमा भैपरि आउने विपद्बाट चेतनशील प्राणी र अचेतनशील प्राणी सबैमा असर पर्न जान्छ । विपद् भोग्नुको विकल्प हुँदैन । विपद् दुई प्रकारका हुन्छन् । प्राकृतिक विपद् र गैरप्राकृतिक विपद् । प्राकृतिक विपद् भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी बिस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् यसभित्र पर्दछन् ।

अर्को गैरप्राकृतिक विपद् भन्नाले महामारी, अनिकाल, डढेलो, कीट वा सुक्ष्म जिवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, प्यान्डामिक फ्लु, सर्पदंश, जनावर आतंक, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदुषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैर प्राकृतिक विपद्बाट उत्पन्न हुने घटनाहरु हुन् ।

गैर प्राकृतिक घटनाहरु मध्ये विकराल अवस्था ल्याउने घटना हो आगलागी र वन डढेलो । हावाहुरीको मौसम चैत, बैशाख र जेठमा आगलागीका घटना ह्वात्तै बढ्ने गर्दछ । त्यसैमाथि यस वर्ष गत वर्षको तुलनामा आगलागीका घटना बढ्ने देखिन्छ । हिउँदमा नेपालमा औसतमा जति पानी पर्नुपथ्र्यो, त्यसको २० प्रतिशत मात्र वर्षा भएको छ । जसले सुक्खापन निकै बढाएको छ । पछिल्ला दुई वर्षयता ०७८÷०७९ मा डढेलोका घटना गएका वर्षहरुको तुलनामा अलि कम भएका छन् । यसैकारण जंगलमा ठूलो मात्रामा पात–पतिंगर थुप्रिएको छ । कतैबाट आगो सल्किहालेमा यसले ठूलो रूप लिनसक्छ । यसकारण पनि यो वर्षको चैत नयाँ वर्षको बैशाख र जेठमा आगलागी घटनाका जोखिम बढि छ ।

देशका केही ठूला शहर बाहेक अरु ठाउँमा मानव बस्ती र जंगल जोडिएका छन् । मानव बस्तीमा लागेको आगो वनमा सल्किन र वनमा लागेको आगो मानवबस्तीमा सल्किन बेर लाग्दैन ।

 

११ महिनामा ३३ सय बढी आगलागी, अर्बौं क्षति

फागुन महिना सुरु भएपछि नेपालमा डढेलो र आगलागीका घटनाहरू बढ्न थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार ०८० बैशाख देखि फागुनसम्ममा प्राकृतिक र गैरप्राकृतिक गरि ५ हजार २ सय २० वटा मुख्य घटना घटेका छन् । जस्मा सबैभन्दा बढी आगलागीका घटना घटेका छन् । यो अवधीमा ३ हजार ३ सय ६२ आगलागीका घटना घटेका छन् भने फागुन महिनामा मात्र ४ सय ५१ आगलागीका घटना घटेका छन् ।

आगलागीबाट ११ महिनाको अवधिमा ९१ जनाको मृत्यु र ४ सय ४७ जना घाईते भएका छन् । त्यस्तै ४ हजार १ सय ३५ परिवार उक्त घटनाबाट प्रभावित भएका छन् । यो अवधिमा घटेको घटनाबाट २ अर्व ५ करोड ७४ लाख ३० हजार ३ सय १७ रुपैयाँ बराबरको आर्थिक क्षति समेत भएको छ ।

२ सय ३७ वन डढेलो

वर्सेनी आगलागीबाट हजारौं हेक्टरमा वनजंगल मासिँदै गएको छ । वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुने गरेको छ । यस वर्षको वैशाखदेखि फागुनसम्ममा २ सय ३७ वन डढेलोका घटना घटेका छन् । फागुन महिनामा मात्रै ७२ वनमा डढेलो लागेको थियो । बन डढेलोका कारण ११ महिनाको अवधिमा ५ जनाको मृत्यु १५ जना घाईते ३२ घरपरिवार प्रभावित भएका छन् भने ३२ लाख ९५ हजार बराबरको आर्थिक क्षति भएको छ  ।

आगलागीबाट वर्सेनी हजारौं हेक्टर जंगल नास हुने गरे पनि सरकारले डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी कदम चाल्न नसकेको सरोकारवालाको गुनासो छ । हावाहुरी र सुक्खा मौसममा लागेको डढेलोले विकराल स्थिति नआउला भन्न सकिन्न ।

विभिन्न कारणले जंगलमा आगलागी हुने गरे पनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको पाईन्छ । पहाडि क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर आगो स्थानीयले नै आगो लगादिने गरेको पाइन्छ । काठ तस्कर, शिकारी, स्थानीय बासिन्दाले पनि आगो लगाउँदा आगलागी हुने गरेको छ । आगलागीबाट वनजंगल नराम्रोसँग विनास हुनेगरेको छ । आगलागीबाट वनजंगल मात्र होइन, वातावरणमा समेत नराम्रो असर पर्ने गरेको छ । डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिँदै आएका छन् ।

डढेलोको प्रकोप लाग्न नदिन व्यक्ति र समुदायनै सचेत हुनुको विकल्प छैन । जस्को लागि जोखिम कम गर्ने उपाय अपनाउन जरुरी छ । हिजो आज गाउँघरमा बस्ती पातलिएसँगै पोखरी, तलाउँहरु मसिँदै गएका छन् । यस्ता पोखरी, तलाउबाट सिचाईमा सहयोग पुग्नुका साथै बस्ती वरपर आगलागी भैईहाले आगो नियन्त्रणमा लिन ठूलो सहयोग पुग्दछ । सामान्य पूर्व तयारीले नै ठूलो क्षति हुनबाट जोगाउँछ ।

नेपालसँग डढेलो निभाउन प्रयोग हुने हेलिकोप्टर र जहाज नभएकोले अझ सम्भव भएसम्म जंगलका खोल्सा–खोल्सीमा पलाएका पानीको मुहानबाट ठाउँ–ठाउँमा स–साना तलाउ बनाउन पनि जरुरी छ । तर पछिल्लो समय सडक विकासका नाममा यस्ता पोखरी मासिएका छन् । पहिरोको जोखिम बढ्ने भन्दै जंगलमा पोखरी बनाउन दिइँदैन ।

विगतका वर्षहरुमा डढेलोकै कारण पनि वातावरणमा फैलिएको प्रदूषण देशैभरका विद्यालयहरू समेत बन्द गरिएका थिए । वन डढेँलोका कारण मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ ।

प्रतिक्रिया