

मंसिर ४ को पीडा बिर्साउने प्रयासमा… !
मुख्य राजनीतिक दलका २ जनाले पार्टी परिवर्तन गरी अर्कै दलबाट उम्मेदवारी दिँदा ३ जना बने अर्कै जिल्लामा पाहुना

काठमाडौं – यही वैशाख १० गते हुन लागेको आम निर्वाचनका लागि उम्मेदवारी दिने समय सकिइसकेको छ । उम्मेदवारहरुविरुद्ध आज उजुरी दिनसकिने गरि निर्वाचन आयोगले तालिका प्रकाशन गरिसकेको छ ।
उम्मेदवार दिएका मध्ये मुख्य पार्टीका चार जना गत मंसिरको चुनावमा पराजय भोगेका उम्मेदवारहरु रहेका छन् । ती मध्ये २ जनाले राजनीतिक दल नै परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने २ जना आफ्नै पार्टीबाट चुनावी मैदानमा छन् ।
उम्मेदवारी दिएकामध्ये प्रमुख दलबाट उम्मेदवारी दिएका उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा, रमेश खरेल र सर्वेन्द्र खनाल यसअघिको निर्वाचनका पराजित अनुहार हुन् । यसपटकको निर्वाचनमा खरेल र कुशवाहाले राजनीतिक दल नै परिवर्तन गरेर उम्मेदवारी दिएका छन् भने खनाल र यादवले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।
गत निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कुशवाहाले यस निर्वाचनमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् । उनी गत निर्वाचनमा पनि बारा-२ बाटै उम्मेदवार बनेका थिए ।
तत्कालिन सुशासन पार्टीका अध्यक्षसमेत रहेका रमेश खरेल यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्नका लागि काठमाडौं-१ बाट बारा-२ पुगेका छन् ।
त्यस्तै उपेन्द्र यादव र सर्वेन्द्र खनाल भने क्रमशः सप्तरी-२ बाट बारा-२ र काठमाडौं -६ बाट तनहुँ-१ मा पुगेका छन् ।
अहिले बाराबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजय भोगेका उम्मेदवार हुन् । उनी सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका थिए । उनले गत निर्वाचनमा १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका थिए । उनी यसपटक नेपाली कांग्रेससहितको गठबन्धनको समर्थनका साथ चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा पनि पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्र्याउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । यादवले १३ हजार ७ सय २२ मत ल्याउँदा कुशवाहाले १३ हजार ४ सय ६८ मत पाएका थिए ।
यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं-१ उम्मेदवार भएका रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा उनले ३ हजार १ सय २१ मत ल्याएका थिए ।
त्यस्तै नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं. १ मा उम्मेदवारी दिएका सर्वेन्द्र खनाल पनि अर्का पराजित अनुहार हुन् । उनी गत मंसिरको ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका उम्मेदवार हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याउँदा सर्वेन्द्रले भने ८ हजार ९ सय ११ मत ल्याएका थिए ।
यी चार बाहेक गत निर्वाचनमा बारा-३ बाट उम्मेदवारी दिएका चन्द्रप्रकाश सुवेदीले पुनः बारा-२ बाट उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै गत निर्वाचनमा बारा-२ बाट स्वतन्त्र निर्वाचन लडेका अरुण ज्ञवाली यसपटक भने प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार भएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन् ।
बारा, चितवन र तनहुँका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न ६९ उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेकामध्ये आधाभन्दा धेरै बाराबाट चुनाव लड्न चाहनेहरु छन् । बाराबाट ३६ जनाले उम्मेदवारी दर्ता गरिरहँदा १२ जना राजनीतिक दलबाट छन् भने २४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
त्यस्तै चितवनबाट २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट १२ जना राजनीतिक दलबाट उम्मेदवारी दर्ता गरेका छन् भने १२ जना स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै तनहुँबाट भने जम्मा ९ जनाको उम्मेदवारी परेको छ । तनहुँबाट कोही पनि स्वतन्त्रका रुपमा उम्मेदवारी दर्ता गरेका छैनन् ।
उम्मेदवारी दर्ताको हिसाबमा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र मनोनयनमै ‘क्लिनस्वीप’ भएको छ । उपनिर्वाचनका कुनै पनि निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवार उठाउन सकेको छैन ।

