


इन्जिनियर हरिकुमारलाई बलात्कार मुद्दामा सफाइ, यौन दुर्व्यवहारमा दोषी

काठमाडौं— जबरजस्ती करणी आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतले बलात्कार अभियोगमा सफाइ दिएको छ। यद्यपि, अदालतले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ।
शुक्रबार न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बलात्कारमा अभियोग दाबी नपुग्ने ठहर गर्दै पोखरेललाई सफाइ दिएको हो। अदालतले भने पीडितको आरोपका आधारमा यौन दुर्व्यवहार प्रमाणित भएको भन्दै सो कसुरमा दोषी ठहर गरेको छ।
पोखरेलविरुद्ध २०८० साउन १२ गते त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरी बलात्कार मुद्दा दायर गरिएको थियो। प्रहरीको अनुसन्धानपछि २०८० भदौ ५ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। पीडित युवती सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने व्यक्ति थिइन्। उनले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन्।
अदालतमा मुद्दा दर्ता भएपछि २०८० असोज १३ गते पोखरेल पक्राउ परेका थिए। सोही वर्ष कात्तिक २० गते उनलाई धरौटीमा रिहा गरिएको थियो। त्यसपछि पटक–पटक पेसी स्थगित हुँदै ४४ औँ सुनुवाइमा फैसला सुनाइएको हो।
फैसलापछि पीडित महिलाले आफू उच्च अदालत जाने बताएकी छिन्। उनले बलात्कार प्रयास नभइ बलात्कार नै भएको दाबी गर्दै आफ्नो बयानलाई अदालतले कमजोर ठहर गरेको गुनासो गरेकी छिन्।

