

‘समाचारले छाडेर गईहाली’

नेमिष गौतम
काठमाडौं– अग्रजले आफ्ना कनिष्ठलाई अथवा सन्तानलाई सधैं सम्झाइरहने एउटा वाक्य छ– गाँस छोड्नु तर साथ नछोड्नु । सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईलाई परिवार तथा आफन्तले पनि यही कुरा सम्झाइरहन्थे । तर नरेशले दुवै कुरा छोडेनन् । उनलाई गाँसको लागि माइक्रोफोन प्रिय बन्यो, अनि साथका लागि गीत । २०५४ सालबाट रेडियोमा बोल्न थालेका नरेशले २०५६ सालबाट गीत लेख्न थाले । जुन काम अहिले पनि निरन्तर चलिरहेको छ । उनले गीत लेख्न थालेको एकदेखि डेढ वर्षमै रेकर्ड हुन थालिसकेका थिए । गायक दीपेश किशोर भट्टराईको स्वर तथा सुनिल बर्देवाको संगीतमा रहेको गीत ‘तिमी नै हौ प्रिय’ नरेशले लेखेको पहिलो पप गीत हो । आधुनिक गीततर्फ आनन्द कार्कीको स्वर तथा वीरेन शाक्यको संगीत रहेको ‘केही कुरा म भन्छु’ हो । यी गीत तत्कालिन समयमा एउटै मात्र एफएम स्टेसन १०० मेगाहर्जमा निकै बज्थ्यो । फिल्ममा उदय सुब्बाको ‘लेखान्त’मा रहेको गीत ‘सँगसँगै बाँच्न पाउँ’ उनको पहिलो फिल्मी गीत हो ।
मिनभवन क्याम्पसको त्यो क्षण
नरेश सानैदेखि बोल्न लजाउदैन थिए । उनी स्कुलमा कार्यक्रम सञ्चालन गर्थे । मीनभवन क्याम्पसमा पढ्दाताका उनका केही साथीहरु रेडियोमा बोल्न थालिसकेका थिए । क्याम्पसका सहपाठी सन्तोष भट्टराई क्लासिक एफएममा, दीपेश श्रेष्ठ हिट्स एफएममा कार्यक्रम चलाउथे । ‘उनीहरुको क्रेज गज्जबको थियो । वरीपरी केटी साथीहरु आउने, साथीभाई झुम्मिने, त्यो समयमा गीत डेडिकेट गर्ने कुरा आउँथ्यो । त्यहाँ उनीहरु हिरो नै हुन्थे’, नरेशले सम्झिए, ‘उनीहरुको त्यो क्रेज देख्दा ‘म पनि त बोल्न सक्छु नि । म चाहिँ के कम’ भन्ने लाग्थ्यो । एफएममा कहिलेकाँही फोन पनि गर्थे, विचार राख्थे । त्यसपछि सन्तोष भट्टराईलाई ‘ए दाई म पनि बोल्छु’ भनें । ऊ मेरो उमेरले दाई तर सँगै पढ्थ्यौं । त्यसपछि दाईले नै ‘रेडियो नेपालको १०० मेगाहर्जमा नयाँ अध्यात्म ज्योति खुल्दैछ र मान्छे मागिरहेको छ’ भन्यो । त्यसपछि बिहान पाँच बजेदेखि सात बजेसम्मको कार्यक्रमको लागि रेडियो नेपाल गएर भ्वाइस टेस्ट पास गरें ।’
अनि रेडियो यात्रा
भ्वाइस टेस्ट पास गरेपछि नरेशले अध्यात्म ज्योतिको कार्यालय पुतलीसडकमा गएर फर्म भरी रेडियो यात्रा शुरु गरे । नरेश आफूलाई एफएमको बाटो देखाउने श्रेय सन्तोषलाई दिन्छन् । ‘तर सन्तोष दाईहरुको क्रेज अथवा उहाँहरु रेडियोमा नबोलेको भए सायदै त म त्यति सजिलो गरी आउँदिन थिएँ होला ।’ नरेश भन्छन् ।
नरेशका अनुसार गीत गाउन रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे जस्तै रेडियोमा बोल्न पनि भ्वाइस टेस्ट पास गर्नुपथ्र्यो । ‘त्यतिखेर देशमा एफएम भनेको १०० मेगाहर्ज एउटै मात्र रेडियो नेपालको एफएम थियो । त्यो फ्रिक्वेन्सीबाट विभिन्न स्टेसनले टाइम किनेका थिए । बिहान ५ बजेदेखि ७ बजेसम्म अध्यात्म ज्योति थियो । त्यसपछि हिट्स एफएम, क्लासिक एफएम, म्यूजिक नेपाल एफएम, इमेज एफएम आउँथ्यो । साँझपख कान्तिपुर एफएम आउँथ्यो, नेवारी एफएम आउथ्यो’ नरेश भन्छन्, ‘मैले रेडियोमा राशीफल भनें, भजन बजाएँ । तर म श्रीकृष्णले, रामले यसो भन्नुभयो भनेर भगवानका कुरा होइन, ओशोका कुरा गरेर, खप्तड बाबाका कुरा गरेर कोटेसनका कुरा गरेर भजन बजाउथे । अन्तरवार्ताका कार्यक्रम पनि चलाउथे ।’ नरेशसँगै गगन थापा, डा. घनश्याम खतिवडा भ्वाइस टेस्ट पास गरेर अध्यात्म ज्योति पुगेका थिए । अध्यात्म ज्योतिपछि नरेश इमेज एफएम पुगे । जहाँ उनको भेट रवि लामिछानेसँग भयो । त्यसपछि उनी क्लासिक एफएम गए । नरेशले क्लासिकमा विज्ञान, प्रविधि, गीति कथा, फोन इन कार्यक्रम, क्विज कन्टेस्ट गरेर सबै कार्यक्रम गरे ।
क्लासिकपछि इमेजमा आएका नरेशले इमेज न्यूज एफएमको शुरुवाती समयमा समाचार पनि पढे । अहिले इमेज एफएममै कार्यक्रम चलाउने नरेशको ‘शुभदिन’ कार्यक्रम ब्राण्डेड बनिसकेको छ । उनले यो कार्यक्रम चलाएको १७ वर्ष पुगेको छ ।
समाचारसँग टाढिएका नरेश
नरेशका अनुसार उनले पत्रिकाकै लागि भनेर कहिल्यै समाचार लेखेनन् । तर रेडियो र टेलिभिजनको लागि स्क्रिप्ट लेख्ने काम चाहिँ गरे । उनले टेलिभिजन र रेडियोका लागि समाचारका विषयबस्तु संकलन गर्ने काम गरे । ‘एफएममा मोबाइलबाट कार्यक्रम चलाउने पहिलो व्यक्ति हुँ म । त्यतिबेला भर्खर मोबाइल आएको थियो । मोबाइल उठाएको पनि पैसा लाग्थ्यो’,नरेश उत्साहित देखिए, ‘ऋतिक रोशन काण्ड हुँदा अस्कल कलेजमा मैले मोबाइलबाट लाइभ गरेको थिएँ । टियर ग्याँस खाएर आँखाबाट आँशु झार्दै निकै कष्टपूर्ण तरिकाले रिपोर्टिङ गरेको थिएँ । केशव भट्टराई दाईको मोबाइल जयप्रकाश रिजालले उपलब्ध गराइदिनुभएपछि क्लासिक एफएममा ‘अन द वे’ भन्ने कार्यक्रममा मैले त्यसरी लाइभ रिपोर्टिङ गरेको थिएँ । यही कार्यक्रममा मैले मोटरसाइकलमा काठमाडौंका विभिन्न ठाउँमा पुगेर त्यहाँको गतिविधिलाई प्रत्यक्ष जानकारी गराउँथे ।’
नरेश आफ्नो मुख्य पेशा बोल्नेलाई नै मान्छन् । ‘मलाई चिन्ने आधार कार्यक्रम सञ्चालक, स्टेज शो एमसी गर्ने, गीत लेख्ने हो । मेरो परिचय त अहिले बोल्ने जिवीको रुपमा रह्यो नि त’ नरेश खुल्छन्, ‘त्यहीकारण अहिले समाचारले छोडेर गइहाल्यो, गीत लेखाई र बोलाईले समातेर राख्यो । म स्क्रिप्ट भन्दा बाहिर गएर बोल्ने मान्छे भएकाले एउटा सीमाभित्र रहेर बोल्छु । म अहिले पनि घोक्न सक्दिनँ । मलाई खाली टपिक र पोइन्ट मात्र सम्झना भयो भने पुग्छ ।’
समाचार कम लेख्नुमा नरेशको बुझाई फरक छ । ‘टेलिभिजन अथवा रेडियोमा समाचारवाचकको यो क्रेज आउला भन्ने त्यो समयमा थिएन । अहिलेको जस्तो चार्म त्यो बेला भएको पक्कै म समाचारवाचक हुन्थें’, नरेश भन्छन्, ‘त्यसकारण अहिले आएर समाचार लेखनलाई अगाडि बढाउन सकिनँ भन्ने मलाई कुनै पछुतो छैन । मलाई रिपोर्टिङको आइडिया चाहिँ छ ।’
अभिनयमा नरेश
नरेशले आफ्नो दायरालाई केवल बोल्न र लेख्नमा मात्र सीमित राखेका छैनन् । उनी अभिनयमा पनि उत्तिकै पोख्त छन् । गायक यम बरालको लोकप्रिय गीत ‘निष्ठुरीले छोडेर गईहाली’को भिडियोबाट नरेशले अभिनयमा डेब्यू गरेका हुन् । गायक यम नरेशका पुराना साथी हुन् । यमले यो गीत बनाएर भिडियो बनाउने भनेपछि इमेज च्यानलले भिडियो निर्माण गरेको थियो । नेपाल टेलिभिजनमा रियालिटी शो ‘आँगन’ हिट भइरहेको समयमा यो भिडियोमा नरेशले ‘मिस पोखरा’ सुनिता रञ्जितसँग रोमान्स गरेका थिए ।
नरेशले गायिका सत्यकला राईको ‘तिमीलाई हङकङ पुर्यायो’, मवीविशाहका गीतमा, आनन्द कार्कीका गीतलगायत झन्डै दुई दर्जन बढी गीतको भिडियोमा अभिनय गरेका छन् । उनले निर्देशक श्याम भट्टराईको टेलिफिल्म ‘गहना’ मा अभिनय गरेका छन् । फिल्मको कुरा गर्दा नरेशको मुख्य भूमिकामा अभिनय रहेको फिल्म ‘बाघचाल’ भए पनि यो फिल्म रिलिज हुन सकेन । यो फिल्मबाहेक उनले झन्डै दर्जन फिल्ममा अभिनय गरेका छन् । अब चाँडै नै फ्लोरमा जाने फिल्म ‘डिसेम्बर फल्स’मा नरेशलाई निकै महत्वपूर्ण भूमिकामा दर्शकले हेर्न पाउनेछन् । उनले धेरै विज्ञापनमा काम पनि गरिसकेका छन् । उनले अहिलेसम्म झण्डै तीन सय बढी गीत लेखिसकेका छन् भने चारवटा सोलो एल्बम ल्याइसकेका छन् । नरेशले सञ्चालन गरेको ‘आँगन’, ‘लभ लाइफ’ र ‘मेरो एउटा साथी छ’ टेलिभिजन शो लोकप्रिय शो मानिन्छन् । हालको अवस्थामा उनको शो ‘मेरो एउटा साथी छ’ प्राइम टेलिभिजन एचडीमा प्रसारण हुन्छ ।
माइकजीवि नरेश
मानिसहरु बिहान बेलुका खानका लागि काम गर्छन् । नरेश भने दैनिक रुपमा बोलेर आफ्नो गाँसको व्यवस्था गर्छन् । ‘मैले बोलेरै जीविकोपार्जन गरिरहेको छु । माइक छ त नरेश छ । म आफूलाई माइकजीवि नरेश भन्न रुचाउँछु’, उनी भन्छन् । नरेशले सन् २०१४ सालमा एक संस्थाबाट ‘भ्वाइस अफ नेपाल’को उपाधि नै पाए । उनकै जन्मदिनको अवसर पारेर शिवरात्रीको दिन यो सम्मान प्रदान गर्दा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, यादव खरेल, दिनेश अधिकारी, डा. भीमार्जुन आचार्य, बसुन्धरा भुषाल, दिनेश डिसी, डा. भोला रिजाललगायतका व्यक्तिको उपस्थिति थियो । यो समयमा उनले माइकमा बोलिरहेको फोटो अंकित टिसर्ट सार्वजनिक भएको थियो । यो टिसर्ट धेरै ठाउँमा बिक्री पनि भएको थियो । नरेशले एकदिन बिहानको रेडियोका कार्यक्रम चलाएर त्यही दिन तीनवटा फरक फरक कार्यक्रमको एमसी गरेका छन् । यसलाई उनी करियरकै ठूलो उपलब्धि मान्दछन् ।
सन्तुष्ट नरेश
नरेश आफ्नो कामप्रति सन्तुष्ट छन् । उनलाई काममा कुनै गुनासो छैन । ‘मैले सबैभन्दा बढी पाएको त माया र नाम हो नि । एउटा नाम त्यसै आयो, यो नाम बद्नाम भएको भए कति गाह्रो हुन्थ्यो । मान्छेले चिन्थे, तर यो त्यति ठिक होइन भन्दा कति गाह्रो हुन्थ्यो’, प्रफुल्लित नरेश भन्छन्,‘मानिसहरुले यसले हाम्रो मनको कुरा भन्छ है । यो हामीलाई चाहिने मान्छे हो है भन्छन् । त्यो भन्दा खुशीको कुरो केही छैन । साँच्चै भन्नुपर्दा मैले आफ्नो करियरमा केही गुमाइन, सबै पाएँ मात्रै ।’
जय होस
नरेश रेडियो, टेलिभिजनदेखि आफूले सञ्चालन गर्ने हरेक कार्यक्रममा ‘जय होस्’ छुटाउदैनन् । यो भन्नुमा उनको आफ्नै बुझाई छ । ‘म सकारात्मक सोच राख्ने मान्छे हुँ । म कुनै पनि कुरामा टेन्सन लिन्नँ । अब राम्रो बोल्नुपर्छ भन्ने लाग्छ । सबैको जय होस् भन्ने कारण सबैको प्रगति होस् भन्ने हो’, उनी भन्छन्, ‘मेरो सोचसँग यो शब्द मिल्न थाल्यो अनि मैले सबैको जय होस् भन्न थालें । मैले सबैको जय होस भन्दा त मेरो पनि जय होस् भयो नि ।’ यही नाम लिएर उनले आफ्नो अनलाइन पोर्टल जयहोसडटकम नै खोलेका छन् ।

