रिसोर्टमा कफि खाएर बसिरहेका थिए डा. केशव श्रेष्ठ !


काठमाडौं — सोमबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस ‘भाइरल’ बन्यो । मुलुकको ७७ जिल्ला मध्ये एउटा जिल्लाको कार्यालय प्रमुखले सामाजिक सञ्जालमा विभिन्न फेहरिस्त फेस गर्दै ‘अलबिदा’ भन्दै लामो स्टाटस लेखे । त्यसपछि उनका आफन्तदेखि प्रहरी प्रशासनका साथै सर्वसाधारण उनले स्टाटसमा खुलाए जस्तो घटना नहोस् भन्दै सचेत बने ।

त्यसमा सबैभन्दा बढी खटियो नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय । स्टाटस देखिनासाथ उनको लोकेशन ट्र्याक गर्नेदेखि लिएर खोजी गर्न प्रहरी खटियो । अनुसन्धानका लागि दक्ष मानिएको नेपाल प्रहरीलाई उनको आशयअनुसारको ‘सम्भावित दुर्घटना’ हुनुपूर्व नै सुरक्षित उनलाई सुरक्षित पत्ता लगाउनु सबैभन्दा ठूलो जिम्मेवारी थियो, अन्ततः सफल पनि भयो ।

उनी थिए रामेछाप जिल्ला अस्पतालका निमित्त मेसु. डा. केशव श्रेष्ठ । पूर्वी नवलपुरको गैंडाकोट स्थायी घर भएका डा. श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै सम्पर्कबिहीन भएका थिए । उनी अल्फाबेट नखुलेको ४७४८ नम्बरको बुलेट मोटरसाइकलमा हिँडेको भनिएको थियो । निरन्तर र चौतर्फीरुपमा खटिएको नेपाल प्रहरीले उनलाई राजधानीको तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा रहेको अवस्थामा सकुशल भेटेको थियो ।

त्यस रिसोर्टमा उनी करिब साढे १० बजे नै पुगेको एक कर्मचारीले कागजपत्रसँग भने । उनका अनुसार रिसोर्टमा कफि अर्डर गरेर खाइरहेका बेला प्रहरी पुगेको थियो । ती कर्मचारीले उनलाई प्रहरी पुगेपछि मात्र चिनेको बताए । उनले भने, ‘बिहान फेसबुकमा त देखेको थिएँ, तर मान्छे यादै भएन, यहाँ कत्ति आउँछन् कत्ति आउँछन्, ख्याल नै गरिएन ।’ साढे १० बजेको आसपासमा होटल पुगेका श्रेष्ठलाई प्रहरीले करिब एक बजे रिसोर्टमा सकुशल फेला पारेको थियो ।

नवलपुरको गैंडाकोटका ३४ वर्षीय श्रेष्ठ काठमाडौंकै सुकेधारामा बस्दै आएका थिए ।

श्रेष्ठले आफू जिल्ला अस्पताल रामेछापमा कार्यरत रहँदा विभिन्न व्यक्तिले अस्वाभाविक दुःख दिएर सरुवा गराएको र मातहका कर्मचारी र केही स्थानीयबासीले विभिन्न आरोप लगाउँदै आएको भन्दै दुःखेसो पोखेका थिए ।

प्रतिक्रिया