


कोहलपुर मालपोतका खरिदारहरूमाथि भ्रष्टाचार मुद्दा, २० हजार घुस लिएको आरोप

रुपन्देही — सेवाग्राहीसँग घुस लिएको आरोपमा कोहलपुर मालपोत कार्यालय बाँकेमा कार्यरत दुई खरिदारसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गा जोड्ने (मोठ भिडाउने) कार्यमा सहजीकरणको नाममा २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले खरिदार हरिचन्द्र पाण्डे, रतनबहादुर जिसी, लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, सेवाग्राहीसँग रकम लिइ पुनमार्फत तिवारीलाई रकम राख्न दिइएको थियो। सोही क्रममा अख्तियारले निगरानी गरी उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको थियो।
चारैजनाविरुद्ध २० हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

