कंगनाविरुद्ध वृद्धाको मानहानी मुद्दा


मुम्बई(एजेन्सी) – एक वृद्धा किसान महिला महिन्दर कौरले अभिनेत्री कंगना रनावतविरुद्ध बठिण्डा अदालतमा मानहानीको मुद्दा दर्ता गराएकी छन् । कंगनाले यी महिलालाई सय रुपैंयाँका लागि किसान आन्दोलनमा सहभागी भएर प्रदर्शन गरेको आरोप लगाएकी थिइन् । यही विषयलाई लिएर महिन्दरले कंगनाका विरुद्ध मानहानी मुद्दा दर्ता गराएकी हुन् ।

वकिलका अनुसार अदालतले उजुरी सुन्ने तारिख जनवरी ११ लाई तय गरेको छ । आफ्नो उजुरीमा पन्जाबकी ७३ वर्षीया महिला किसानले कंगनाले एक महिलासँग उनको तुलना गर्दै एक ट्वीटमा आफूमाथि झुठो आरोप लगाएको उल्लेख गरेकी छन् । कंगनाले ‘ती त्यही महिला हुन्, जो शाहीन बागमा भएको सीएए प्रदर्शनमा सहभागी थिइन्’ भनेकी थिइन् । आफूलाई यस किसिमको टिप्पणी गरेर अभिनेत्री कंगनाले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको उनको आरोप छ ।

मोहिन्दर पन्जाबको भटिण्डामा बस्छिन् । उनीसँग १३ हेक्टर जमिन छ । जसमा उनी पहिलेदेखि आफैं खेती गर्दै आएकी छन् । उनका पति अस्थमाबाट ग्रस्त भएपछि मोहिन्दर आफैंले खेतीपातीको काम सम्हाल्दै आएकी छन् ।

प्रतिक्रिया