


विश्वकै सबैभन्दा धेरै फलोअर भएका टिकटक स्टारलाई पनि अमेरिकाले निकाल्यो

काठमाडौं- विश्वकै सबैभन्दा धेरै फलोअर भएका टिकटक स्टार खाबी लेम हाल अमेरिकाबाट डिपोर्ट भएपछि सामाजिक सञ्जाल स्टारडम र कडा अध्यागमन नीतिबीचको द्वन्द्व पुनः सतहमा आएको छ।
१६ करोड २२ लाख टिकटक फलोअर्स भएका खाबीलाई अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन निकायले जुन ६ मा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। ३० अप्रिलमा अमेरिका प्रवेश गरेका उनी भिसाको म्याद सकिएपछि पनि बसिरहेकाले उनीमाथि अध्यागमन उल्लंघनको आरोप लागेको हो।
अध्यागमन तथा भन्सार प्रवर्तन निकायले उनलाई सोही दिन ‘स्वेच्छिक प्रस्थान’को शर्तमा रिहा गरेपछि उनी इटाली फर्किएका थिए। यद्यपि, डिपोर्टेसनको खबर सार्वजनिक भए पनि उनले टिकटक र इन्स्टाग्राममा नियमित सामग्री पोस्ट गरिरहेका छन्। ७ जुनको टिकटक भिडिओ र भेनिस बिचजस्तो देखिने इन्स्टाग्राम स्टोरीले उनका फ्यानहरूलाई अन्योलमा पारेको छ।
अमेरिकी अध्यागमनको डेटाबेसबाट खाबीको नाम हटाइएको छ, जुन घटना ट्रम्प प्रशासनको कडाइका साथ लागु गरिएको अध्यागमन नीतिसँग जोडिएको देखिन्छ। खाबीको डिपोर्टेसनलाई कतिपयले “सुपरस्टार हुनु कानूनी जिम्मेवारीबाट मुक्त हुने होइन” भन्ने सन्देशका रूपमा पनि लिएका छन्।
सेनेगलमा जन्मिएका र इटालीमा हुर्केका खाबीले सन् २०२० को कोभिड महामारीको समयमा टिकटकमा प्रवेश गरेका थिए। शब्दविनाको व्यंग्यात्मक भिडिओबाट चर्चामा आएका उनी युनिसेफका सद्भावना दूतसमेत हुन्।

