


एआईजी कार्कीको ‘गुन्यु चोली पटुकी’ सार्वजनिक

काठमाडौं – नेपाल प्रहरीको जिम्मेवार स्थानमा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दानबहादुर कार्की प्रहरीमा मात्र नभई सिर्जनात्मक कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।
संगठनको जिम्मेवारीका अलवा निरन्तर रुपमा गीत लेखनमा सक्रिय रहेका एआइजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक भएको छ ।
बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर रहेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् ।
नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए । ‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो । गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ ।’
पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए ।
नेपाल प्रहरीको अब्बल अधिकृत मानिएका कार्की हाल संगठनको महत्वपूर्ण मानिएको मानवस्रोत विकास विभाग प्रमुखका रुपमा कार्यरत छन् ।

