बोस्निया–मलेसिया पठाइदिन्छु भन्दै सात लाख ठगी, दुई जना पक्राउ


काठमाडौं — आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई ६ जना व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २६ वर्षीय दीपेन्द्र गुरुङ र सर्लाहीकी ३४ वर्षीया रुपी माया रहेका छन्।

प्रहरीका अनुसार, गुरुङले बोस्निया पठाइदिने भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ असुलेपछि सम्पर्कविहीन भएका थिए। उता रूपी मायाले मलेसिया पठाइदिने भन्दै सोही ६ जना व्यक्तिबाट ५ लाख ५७ हजार रुपैयाँ लिएकी थिइन्।

ठगिएको भनी पीडितहरूले दिएको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जानकारी दिएको छ।

प्रतिक्रिया