


काठमाडौं परिसरबाट खटिएका इन्स्पेक्टर लामाको टोलीले गरेको थियो डा. श्रेष्ठको उद्धार

काठमाडौं- फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले सकुशल उद्धार गरिसकेकाे छ। डा. श्रेष्ठलाई इन्स्पेक्टर वाङ्गेल लामाको विशेष टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट सोमबार दिउँसो फेला पारेको थियाे।
डा. श्रेष्ठ बेपत्ता भएपछि नेपाल प्रहरीका विभिन्न संगठनहरुले खोजी कार्य तिव्र बनाएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रल्हाद कार्कीको कमाण्डमा सञ्चालन गरिएको विशेष अप्रेसन टोलीले पनि डा. श्रेष्ठको खोजी गरिरहेको थियो। उनी सोमबार बिहान करिब १०:३० बजे रिसोर्ट पुगेका थिए र कफी अर्डर गरी बसिरहेका बेला करिब १ बजे प्रहरी टोलीले उद्धार गरेको हो।
उद्धार कार्यमा खटिएका इन्स्पेक्टर वाङ्गेल लामा पछिल्लो समय उपत्यकाको आपराधिक र गुण्डा सञ्जाल नियन्त्रणमा विशेष ख्याती कमाएका प्रहरी अधिकृत हुन्। गुण्डागर्दीमा संलग्न समूहहरू समेत उनलाई डर मान्ने गर्छन्।
वैशाख १३ कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ गर्न पुगेको टोली पनि लामाकै थियो। यस्तै गत पुष ७ बिहान ४ बजे दरबारमार्गस्थित लिक्विड लाउन्जमा गृहमन्त्री रमेश लेखकका भाञ्जा निर्घात कुटिएका घटनामा संलग्न ८ जनालाई ७ बजेभित्रै पक्राउ गर्न सफल टोली पनि उनकै थियो।
उनीविरुद्ध संगठित अपराधी समूहले सरुवा गराउने दबाब दिँदै आए पनि तत्कालीन प्रहरी महानिरीक्षक(आइजीपी) वसन्त कुँवर र हालका आइजीपी दीपक थापाले उनलाई परिसरमै कायम राखेका छन्।
डा. श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका निमित्त प्रमुख थिए। हेटौँडामा सरुवा भइसकेपछि त्यहाँ हाजिर हुन गएका उनी हाजिर प्रक्रिया नमिलाएको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘अलविदा’ भनेका थिए। त्यसपछि मोबाइल स्विच अफ भएपछि प्रहरीको साइबर ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरका अनुसन्धान टोलीहरू उनको खोजीमा सक्रिय थिए।
पूर्वी नवलपरासीको गैँडाकोट निवासी डा. श्रेष्ठ हाल सकुशल छन्। उनलाई थप चिकित्सकीय परामर्श र आवश्यक सहयोगका लागि परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

