


धवलशमशेरलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं- राज्यविरुद्धको अभियोगसहितको तीनकुने प्रकरणमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा राणा ‘पार्टी जनपरिचालन संयोजक’ को हैसियतमा सहभागी भएको भन्दै उनलाई प्रमुख अभियुक्त बनाइएको थियो।
राणा यसअघि स्वास्थ्य समस्या र उमेरको कारण देखाउँदै हाजिरी जमानीमा छुटेका थिए। प्रहरीले उनीमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोजन गरेको छ। अदालतमा उपस्थित भएपछि उनको बयान लिइएपछि थुनछेक बहस भएको थियो।
राणाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायतले बहस गरे भने सरकारी पक्षबाट चारजना सरकारी वकिल प्रस्तुत भएका थिए।
थुनछेक बहसपछि अदालतले ३ लाख धरौटी माग गर्दै राणालाई तारेखमा रिहा गर्न आदेश दिएको हो। यसअघि उनी ५० हजार रुपैयाँ जरिवाना तिरेर प्रहरी सम्पर्कमा नआइकन मुक्त रहेका थिए।
यसै प्रकरणमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै अदालत उपस्थित भएका छैनन्। स्रोतका अनुसार उनी पनि चाँडै अदालतमा उपस्थित हुने तयारीमा छन्।
तीनकुने घटनासम्बन्धी मुद्दामा यसअघि अदालतले ३२ जनालाई धरौटीमा रिहा गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

