आमासँग बाटोखर्च लिएर फर्किएका सिपाही सरोजमाथि यसरी भयो झूठो मुद्दामा ‘कोर्टमार्सल’


काठमाडौं– नेपाली सेनाको कालीबहादुर गण चितवनबाट २ पुस २०७५ मा ‘केआर १००७९२’ नम्बरको सर्ट मेसिन गन (एसएमजी) हरायो। गन चोरीको आरोपमा गणमा कार्यरत सेनाका अमल्दार लब कुमार गुरुङ र सिपाही सरोज तामाङलाई दोषी ठहर गर्दै तत्कालिन सैनिक अदालतका अध्यक्ष सहायक रथी सहदेव खड्काले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।

उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको यातनापछि ६ वैशाख २०७७ मा पुर्पक्षको लागि जेल चलान गरिएको थियो। हाल पनि उनीहरू जेलमै छन्। तर, उनीहरूले चोरेको भनिएको एसएमजी अर्कैले चोरेको पाइएपछि यतिबेला उक्त घटनाले अर्कै मोड लिएको छ। त्यसैले यतिखेर लब र सरोजका परिवारहरू न्यायको लागि चितवन आएका छन्।

यसअघि लबका परिवारसँगको रिपोर्ट प्रकाशित भइसकेको छ। त्यो समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।

अनालाइनन्युजसँगको कुराकानीमा प्रमिलाले आफ्नो श्रीमान कसरी चोरीको आरोपमा जेल परे? कसरी उनलाई खबर पुग्यो? सेनाले यातना दियो कि दिएन? कसरी यो अवस्थामा आइपुग्यो? आफ्नो श्रीमानको अवस्था कस्तो छ? लगायत आफूले भोगेको यातनाको वृत्तान्त सुनाएकी छन्।

त्यस्तै सरोजकी श्रीमती उर्मिला मगरसँग पनि अनलाइनन्युजले कुराकानी गरेको छ।

श्रीमानले भोगेको यातना सुनाउँदै गर्दा उर्मिला पटक–पटक विक्षिप्त भइन्। श्रीमानलाई सेनाले ब्यारेकमा राखेर सम्पर्कविहीन बनाइदिँदा उर्मिला ३ महिनाको सुत्केरी थिइन्। ३ महिने छोरीको साथबाट छुटिएर गएका सरोजले त्यसपछि अहिलेसम्म छोरीलाई देख्न पाएका छैनन्।

सरोजले चितवन कारागारमा एसएमजी चोरी गरेको अभियोगमा सजाय काटिरहेका छन्। जतिबेलाको घटनाले उर्मिला आफूलाई सम्हाल्न नसक्ने अवस्थामा छिन्। झूठा अभियोगमा कोर्टमासल गरिएर कारागारसम्म पुगेका पतिका विषयमा बताउँदा उर्मिलाले आँसु थाम्न सकिनन्।

उनी भन्छिन्–

मेरो घर मोरङ सुन्दरहरैँचा नगरपालिकामा पर्छ। ८ वर्षअघि झापास्थित चारआलीमा रहेका सैनिक ब्यारेकमा पोस्टिङ रहेको बेला हाम्रो चिनजान भएको थियो। त्यसपछि उक्त चिनजान मायाप्रेममा परिणत भयो। केही समयपछि हामीले बिहे गर्यौं।

बिहे गरेको चार वर्षपछि असोज ०७५ मा हाम्रो सन्तानको रुपमा छोरी यस धर्तीमा आइन्। छोरी जन्मेपछि सरोज पनि खुसी हुनुहुन्थ्यो। उहाँ झापामा भएको कारण छोरीसँग भेट्न आतुर हुनुहुन्थ्यो। त्यसैले मंसिरको अन्त्यतिर ४ दिनको विदा लिएर घर आउनुभयो।

त्यही बेला छोरी बिरामी परिन्। त्यसपछि हामी दुवैजना छोरीलाई जचाउँन विराटनगरको अस्पताल गयौं। अलि ठिक भएपछि घर फर्कियौं। उहाँको विदा चार दिनको मात्र भएको कारण १ पुसमा हाजिर हुनुपर्ने थियो। सोही दिन हतार–हतार गरेर उहाँ बिहानै छोरीलाई गालामा म्वाई खाँदै घरबाट निस्किनुभयो।

‘अझैं केही दिन बस्न त मन थियो। तर, जागिरले गर्दा मिलेन। अर्को समय आउँदा अलि धेरै छुट्टी लिएर आउँछु’ जानेदिन अघिल्लो रात मलाई उहाँले भन्नुभएको थियो। त्यतिबेला खर्च नभएको कारण उहाँलाई आमाले पैसा समेत दिनुभएको थियो।

घरबाट निस्किएर गएको दुई दिनसम्म उहाँ सम्पर्कमा आउनुभएन। एक्कासी ३ पुसमा उहाँले आत्तिँदै फोन गर्नुभयो। फोनमा ‘यहाँ हतियार हराएको छ, हामीलाई धेरै पेलिरहेको छ’ मात्र भन्नुभयो। अरु धेरै कुरा नै हुन पाएन।

उहाँको कुरा सुनेर म पनि आत्तिएँ। घरमा बुबाआमालाई घटनाबारे सुनाएँ। सबैजना आत्तिनुभयो। त्यसपछि हामीले उहाँलाई फोन सम्पर्क गर्ने प्रयास गर्यौं, तर ५ दिनसम्म सम्पर्क हुन सकेन।

एक्कासी ८ गते फेरि उहाँको फोन आयो। फोनबाट निकै त्रसित मुद्रामा उहाँले भन्नुभयो, ‘मलाई नखोज तिमीहरू। म मर्छु कि बाँच्छु थाहा छैन।’ त्यसपछि उहाँको कुरा सुनेर झनै पीडा भयो। बुबाआमालाई लिएर म तीन महिनाको छोरी च्यापेर चितवन आएँ।

चितवन आए पनि हामीलाई भेट्न दिइएन। मेरो श्रीमान कहाँ कस्तो अवस्थामा हुनुहुन्छ? भनेर प्रश्न गर्दा केही पनि भनिएन। पछि मात्र थाहा भयो– उहाँलाई जर्बजस्ती कुटेर, धम्क्याएर उक्त एसएमजी मैले निकालेर दिएको हो भन्न लगाएछन्।

सरोजलाई जर्बजस्ती कबुल गर्न लगाएपछि ‘गन खोई’ भन्दै सैनिक हिरासतमा चार महिनासम्म यातना दिइएको रहेछ। करिब ४ महिनाभन्दा बढी उहाँसँग हाम्रो सम्पर्क हुन सकेन। एकैपटक ०७६ वैशाखको सुरुवाततिर उहाँको फोन आएको थियो। जतिबेला उहाँले मलाई चितवन कारागारमा ल्याइएको छ मात्र भन्नुभयो।

उहाँलाई जेलमा लगेपछि नेपाली सेनाका सिपाहीहरू पटक–पटक मोरङ घरमा आएर हामीलाई सोधपुछ गरे। बन्दुक कहाँ लुकाएको छ भनेर हामीलाई समेत यातना दिइयो। ‘त्यसले बन्दुक कता लुकाएको छ? झोलामा के बोकेर ल्याउँथ्यो? कति पैसा लिएर आउँथ्यो?’ यसरी अनेक प्रश्न सोधेर हैरान पार्ने गर्थे।

आफू सुत्केरी भएका बेला श्रीमान जेलमा पर्दा धेरै दुःख पाएको छु। घरमा कमाउने कोही नभएपछि ९ महिनाकी छोरीलाई घरमै छाडेर जागिर गरें। मोरङकै सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थें।

तिमीहरूले यो केस अघि बढायौँ भने तेरो श्रीमती गायब गर्दिन्छुु भनेर सरोजलाई धम्कीसम्म आयो रे!

धम्कीपछि डरले जागिर सुरु गरे पनि २ महिनासम्म घरमै बसें। आफिस जान सकिनँ। यसरी मलाई सिधै धम्की नआए पनि यस्ता कुराहरू सुनिरहन्थँे।

त्यसपछि ८ वैशाख ०७६ मा उहाँलाई भेट्न आमाबुबा र म चितवन जेल आयौं। हामीले भेट्दा पनि उहाँको आँखामा चोट थियो। त्यतिबेला हामीलाई उहाँले आँखामा पट्टी बाँधेर कुट्थ्यो, कहिले पानी हालेर पिट्थ्यो, त कहिले पाइपले ल्याएर हिर्काउने गरेको सुनाउनुभयो। त्यसो भन्दा मेरो मन कस्तो भयो होला?

त्यतिबेला भेट्नासाथ उहाँलाई मैले सोधें– कतै गल्ती त गर्नुभएको छैन?

उहाँले रुँदै भन्नुभयो– ‘तिमीलाई मप्रति विश्वास छैन?’ त्यसो भनेपछि म आफै त्यहिँ भक्कानिएर रोएँ।

अनि सरोजको आमाले समेत सोध्नुभयो– आमाको मन न हो छोराले कतै झुक्क्किएर गल्ती गरेको छ कि?

आमाले त्यसो भनेर प्रश्न गरेपछि उहाँले भन्नुभयो, ‘तपाईंको दूधको कसम मैले चोरेको छैन आमा।’

अन्त्यमा त्यहाँबाट निस्कन लागेको बेला उहाँले भन्नुभएको एउटा कुराले अझै पनि मलाई सताइरहन्छ। त्यतिबेला उहाँले ‘जर्बजस्ती हस्ताक्षर गराउन लगाएको हो। बाँच्नको लागि नसकेर कबुल गरेको हो।’ भन्न्नुभएको थियो।

त्यतिबेला नै मलाई लागेको थियो– उहाँलाई ठूलो अन्याय भएको छ।

पछिल्लो समय उहाँसँग करिब एक वर्षसम्म राम्रोसँग सम्पर्क हुन पाएको छैन। कोरोनाको कारणले गर्दा पनि उहाँसँग भेट नभएको हो। जेल गएपछि उहाँसँग २ पटकमात्र भेट भएको छ।

कोही बेला उहाँले नै फोन गर्नुहुन्छ। फोन गरेको बेलामा पनि उहाँले मलाई निकाल मात्र भन्नुहुन्छ। तर, हाम्रो कुरा कहिँकतै सुनुवाई हुन्न।

अहिले छोरी बुझ्ने भइसकेककी छन्। ३ वर्षको नानीले ‘बाबा खोई’ भन्दा रुन मन लाग्छ। मसँग उसलाई दिने कुनै जवाफ नै छैन।

जतिबेला हामीले धेरै ठाउँमा गएर न्याय खोज्यौं। कसैले वास्ता नै गरेनन्। सबैले एउटै कुरा भन्नुभयो, ‘यो सेनाको मुद्दा हो, केही गर्न सकिँदैन।’

अहिले एसएमजी अर्कैले चोरेको खबर बाहिरिएपछि श्रीमानले चाँडै न्याय पाएर घर फर्किनुहुन्छ भन्ने आशा पलाएको छ।

आइतबार बिहानै चितवन पुगेको थियो परिवार

उर्मिला सरोजकी आमा माया तामाङ र बुबा कृष्णबहादुर तामाङसँग चितवन आएकी हुन्। प्रहरीका भूपू हबल्दारसमेत रहेका कृष्णबहादुरले छोराले न्याय पाउने बताए।

‘म ०५५ सालमा प्रहरी सेवाबाट रिटायर्ड भएको थिएँ। त्यतिबेला ऊ अब म तपाईंको बिँडो थाम्छु, देशका लागि लड्छुु भन्दै सेनामा भर्ती भएको थियो,’ कृष्णबहादुरले सुनाए।

‘तर आज सरोज अनाहकमा जेलमा परेको पुष्टि हुँदा एउटा बाबुको मन कति दुखेको छ’ उनले भने, ‘त्यो मलाई मात्र थाहा छ। व्यक्तिगत रिसिईबीको कारण मेरो छोरालाई फँसाइयो। मेरो छोराले अहिलेसम्म बदमासी गरेको थाहा पाएको छैन।’

यस्तै सरोजकी आमाले समेत छोरा सरोजले भोगेको यातना सुनाउँदा रोइन्। उनले पनि आफ्नो मनलाई दह्रो बनाउन सकिनन्। तर, अब आमा पनि छोरा छुट्ने कुरामा आशावादी छिन्। उनले हामीसँग प्रश्न गरिन्, ‘सर अब त मेरो छुट्छ होला है?’

सरोजमाथि लगाएको आरोप मिथ्या

सरोज र लबले चोरेर लुकाएको भनिएको एसएमजी अर्कैको चोरेको पाइएपछि उनीहरूमाथि लगाइएको आरोप मिथ्या साबित भएको छ। ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। गुरुङको हत्यामा प्रयोग दुई वर्षअघि कालीबहादुर गणबाट चोरी भएको एसएमजी नै प्रयोग भएको खुलेको छ।

गुरुङको हत्यामा संलग्न सैनिक गंगाधर ढकालको साथबाट बरामद भएको एसएमजी दुईवर्ष अघि कालीबहादुर गणबाटै चोरेको ढकालले बयान दिएपछि जेलमा सजाय काटिरहेका सरोज र लबकुमारले यतिबेला न्याय पाउने आशा जागेको छ।

हराएको भनिएको एसएमजी अर्कैले चोरेको खबर बाहिरिएपछि श्रीमान छुट्लान् भन्ने आशमा उनीहरू चितवन आएका हुन्।

त्यतिबेला एसएमजी चोरीको छानबिन गर्ने जिम्मा पाएका सहायक रथी खड्का, मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेन गणेश ढकाललगायतले नै दुई सैनिकलाई फँसाएको पीडित सैनिक परिवारको दाबी छ।

गुरुङ हत्याकाण्डमा फेला परेको हतियारका कारण दुई वर्षदेखि जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसिइबीका कारण फँसाइएको भन्ने पीडित परिवारको दाबीमा सत्यता देखिएको छ।

हराएको एसएमजीको लट नम्बर अहिले फेला परेको एसएमजीसँग मिलेको प्रहरीले जनाएको छ। उक्त एसएमजी प्रकरणको अनुसन्धानका लागि सैनिक मुख्यालयबाट सहायक रथीको नेतृत्वको टोली चितवन पुगिसकेको छ।

तत्कालिन समयमा गणका मेजर श्रेष्ठ र क्याप्टेन ढकालको नियतका कारण आफ्नो श्रीमानलाई चोरीको अभियोगमा फसाइएको उर्मिलाको दाबी छ।

(चितवनबाट फर्केपछि)

प्रतिक्रिया