

अमेरिका बसेर श्यामचन्द्रलाई मर्नु न बाँच्नु बनाउँदै विशाल थपलिया

काठमाडौं– ८ वर्षअघि साझेदारीको रूपमा गरिएको १ करोड ३० लाख रुपैयाँको लगानी सम्झौताले अहिले श्याम चन्द्र खत्रीलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ । मोरङको बिराटनगर उपमहानगरपालिका–२ घर भइ हाल संयुक्त राज्य अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका विशाल थपलियाले काभ्रेको धुलिखेल नगरपालिका–२ का श्याम चन्द्रसँग कन्सल्टेन्सीमा साझेदारी गर्न उक्त रकम लिएका थिए ।
२०७४ देखि २०७५ सम्मको अवधिमा पटक–पटक गरी थपलियाले खत्रीसँग उक्त रकम लिएको देखिन्छ । सो रकममध्ये विभिन्न मितिमा ८५ लाख रुपैयाँ फिर्ता गरे पनि अझै ४५ लाख बाँकी रहेको छ । रकम फिर्ता नहुँदा आर्थिक, मानसिक, र सामाजिक तनाव झेल्नुपरेका खत्रीले आत्महत्या गर्नेसम्मको सोच आउने गरेको बताए । ‘एकपटक त आत्महत्या नै गर्ने विचार आएको थियो,’ उनले भने ।
श्यामचन्द्रका अनुसार आफ्ना साथीभाई आफन्तसँग मागेर विशाललाई उक्त रकम बुझाइएको थियो । अहिले ती आफन्तहरुले आफूसँग रकम मागिरहेको तर उता विशालले रकम नदिएकाले तनावको अवस्था आएको खत्रीको भनाई छ । ‘मेरै आफ्नै भएको भए यति धेरै तनाव सायद हुने थिएन । तर मैले पनि अरुसँग मागेर उहाँलाई रकम बुझाएको थिएँ । उहाँले फिर्ता गरिरहनु भएको छैन । यता मलाई विभिन्न दबाब आइरहेको छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा मैले के गर्ने । उहाँले मेरो पीडा बुझ्नु भएन । त्यसैले आज बाध्य भएर मिडियामा आएको छु ।’
थपलियाले फिर्ता गर्नका लागि दिएको चेकसमेत तीन पटकसम्म बाउन्स भइसकेको छ । नेपालका आफ्नो सम्पत्ति बिक्री गरी अमेरिका पुगेका थपलिया त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएको भनाइ रहेको छ । तर, नेपालमा बाँकी रहेको रकम तिर्न बारम्बार भाका दिए पनि अहिलेसम्म फिर्ता नगरेको खत्रीले गुनासो गरे ।
धुलिखेल नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन न्यौपानेको रोहबरमा तयार पारिएको कागजातअनुसार थपलियाले २०८१ साल फागुन १८ गते (२ मार्च २०२५) मा हस्ताक्षर गरि पठाएको सहमति कागजमा २० लाख रुपैयाँ १२ मार्च २०२५ भित्र तिर्ने र बाँकी २५ लाख दुई महिनाभित्र तिर्ने उल्लेख गरिएको छ ।
उक्त रकम भाका भित्र नतिरेमा खत्रीले थपलियाको चल-अचल सम्पत्ति विक्री गरी असुल उपर गर्न सक्ने अधिकार राख्ने कागजमा स्पष्ट उल्लेख गरिएको छ । तर, थपलियाले अझै पनि रकमका लागि झुलाइरहेका छन् । विशालले सामाजिक सञ्जाल फेसबुकमा श्यामलाई ब्लक गरेका छन् भने, अन्य माध्यमबाट सम्पर्क भए पनि वर्षाैंदेखि पटक-पटक झुलाइरहेका छन् ।
खत्री न्यायका लागि अझै संघर्षरत छन् । आफ्नै रकमका लागि पनि हारगुहार गरेका खत्री अब कानुनी उपचारको खोजीमा जाने बताएका छन् ।

