

ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट गरेकाे अर्को भिडियो पनि सार्वजनिक

काठमाडाैं- ट्राफिक प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेको अर्को भिडियो सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको नयाँ भिडियोमा ट्राफिक प्रहरीले एक युवालाई ‘किन भागेको ?’ भन्दै समातेपछि लखेटी कुटिरहेको देखिन्छ ।
उक्त घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिँदै घटनाबारे बुझ्ने प्रक्रिया अघि बढाइएको बताए। उनले भने, “हामीले पनि भिडियो हेरेका छौं, अहिले त्यस्तो घटना कहाँ घटेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं।”
यसअघि पनि सर्वसाधारणमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो सार्वजनिक भएको थियो। उक्त घटनामा संलग्न चार जना ट्राफिक प्रहरीमाथि अहिले छानबिन भइरहेको छ।
सो भिडियोमा ती प्रहरीले एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको थियो, जसपछि प्रहरी प्रशासनले चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएको हो। अनुसन्धानबाट उक्त भिडियो केही महिनाअघि खिचिएको खुलेको थियो।
यसैबीच, पहिलो घटनाको छानबिन प्रक्रिया जारी रहँदा ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो सार्वजनिक हुनुले ट्राफिक प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

